म्यानमारमा सेनाले गरेको ‘कू’ विरुद्ध आन्दोलनमा सहभागी पाँच हजार कैदी रिहा हुने



काठमाडौं । म्यानमारमा गत फेब्रुअरीमा सेनाले गरेको ‘कू’ विरुद्ध आन्दोलनमा सहभागी भएका पाँच हजारभन्दा धेरै कैदी रिहा हुने भएका छन् ।
म्यानमारको सेनाले सोमबार उनीहरुलाई रिहा गरिन लागेको बताएको हो ।
बीबीसीकाअनुसार म्यानमारको सेनाका प्रमुख मिन औङ हलिङले पाँच हजार ६३६ कैदीहरुलाई मानवताको नाताले रिहा गरिन लागेको बताएका हुन् ।
यसअघि आइतबार दक्षिण पूर्वी एसियाका मुलुकहरुको संगठन (आसियन)को वार्षिक बैठकमा हलिङलाई नबोलाउने निर्णय भएको थियो ।
उनको सट्टामा गैर राजनीतिक प्रतिनिधि बोलाउन आसियन मुलुक सहमत भएका हुन् । उनीहरुले सेनाका प्रमुखले म्यानमारमा हिंसा रोक्न आवश्यक कदम नचालेको निष्कर्ष निकालेका छन् ।
सेनाले सत्ता आफ्नो हातमा लिएपछि म्यानमारमा भएको प्रदर्शनमा परी कम्तीमा १ हजार १७८ जनाको मृत्यु भएको थियो भने ७ हजार ३५५ जना पक्राउ परेका थिए ।
अक्टोबरको अन्तिममा बौद्धधर्मालम्बीको बिदाको अवसर पारेर आन्दोलनमा पक्राउ परेकाहरुलाई रिहा गरिने सेनाले बताएको छ ।
सेना प्रमुख हलिङले सैन्य नेतृत्व म्यानमारमा शान्ति तथा प्रजातन्त्रको लागि प्रतिबद्ध रहेको दाबी गरेका छन् ।
उनले आफ्नो सरकारसँग प्रजातन्त्र पुनर्बहालीको लागि पाँच चरणको योजना रहेको बताएका छन् । म्यानमारको सेनाले गत जुलाईमा दुई हजारभन्दा धेरै प्रदर्शनकारीलाई रिहा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्