लुम्बिनी प्रदेशमा बिहानैदेखि बन्दको प्रभाव



बुटवल । मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) को विरोधमा विभिन्न दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव लुम्बिनी प्रदेशमा बिहानैदेखि परेको छ। विप्लव नेतृत्वको नेकपासहित ६ राजनीतिक दलले एमसिसी सम्झौता खारेजीको माग गर्दै बुधबार नेपाल बन्दको आह्वान गरेका हुन् ।

बन्दका कारण लुम्बिनी प्रदेशका जिल्लामा सार्वजनिक सवारीसाधन चलेका छैनन् । फाटफुट रुपमा केही निजी सवारी साधन भने गुडेका छन् । लुम्बिनी प्रदेशका मुख्य मुख्य शहरहरू रूपन्देहीको बुटवल, भैरहवा, दाङको भालुबाङ, लमही, घोराही, बाँकेको नेपालगन्ज लगायतका क्षेत्रमा बन्दको प्रत्यक्ष प्रभाव परेको छ । बन्दका कारण मुख्य राजमार्ग क्षेत्रका पसलहरू साथै सहरका मुख्य बजार बन्द छन् । विद्यालयले भने बुधबारका लागि मंगलबार नै सूचना निकालेर बन्द हुने जानकारी गराएका थिए । लामो तथा छोटो दूरीका सवारी साधनहरू चल्न नसक्दा यात्रुहरू गन्तव्यमा पुग्न पाएका छैनन् ।

बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि मुख्य मुख्य चोकहरूमा सुरक्षाकर्मी परिचालन गरिएको छ । बन्दकर्ताहरूले बन्द साँझ ५ बजेसम्म जारी रहने बताएका छन् । विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले दलहरूले एमसिसी अनुमोदन गर्न तयारी थालेको भन्दै खारेजीको माग गर्दै नेपाल बन्द आह्वान गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्