प्रदेश २ सरकार असक्षम : प्रभु साह



बारा । एमाले नेता प्रभु साहले प्रदेश २ सरकार विकास निर्माणमा असक्षम रहेको टिप्पणी गरेका छन् ।
बाराको सिम्रौनगढ र बेलहियामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रत्येक वर्ष प्रदेश दुईमा ४० अर्ब बजेट आइरहे पनि बजेटमा चरम भ्रष्टाचार भएको आरोपसमेत लगाए ।
हाल प्रहरीले तस्करीको मालसामान पक्राउ गर्दा पुरस्कार स्वरूप ३० देखि ४५ प्रतिशतसम्म कमिसन पाइरहेको भन्दै नेता साहले प्रहरीले पाउने कमिसनको व्यवस्था हटाउनुपर्ने बताए ।
कमिसनको लोभमा प्रहरीले जबरजस्ती तस्करीको सामान भनी गरिब नागरिकलाई दुःख दिने गरेको नेता साहको भनाई छ । आफ्नो दैनिकी चलाउन भारतीय बजारबाट किराना, कपडा, मल खाद्यलगायतका सामान खरिद गरी ल्याउनेहरूको सामानलाई बोर्डरमा नेपाली सुरक्षाकर्मीले अवैध भनी पक्राउ गरी अनावश्यक दुःख दिने कार्य स्वीकार्य नभएको उनले चेतावनी दिए ।
हिन्दुहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा सिम्रौनगढ नगरपालिकास्थित नारिबास र प्रसौनी नगरपालिका बेलहयामा भएको अन्तरक्रिया कार्यक्रममा पनि नगरवासीको ठुलो सहभागिता रहेको थियो ।
त्यस क्रममा नेता साहलाई स्थानीयले क्षेत्र नं १ बाट चुनाव लड्नसमेत आग्रह गरेका थिए । बाराका क्षेत्र १ को जनता विकासबाट वञ्चित रहेको भन्दै नगरको समाजसेवी तथा युवा वर्गले त्यहाँको विकासको लागि जनप्रतिनिधि नेता साहलाई बनाउनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्