भारतीय रक्षा महाविद्यालयको प्रतिनिधिमण्डलको प्रधानमन्त्रीसँग भेटवार्ता नहुने



काठमाडौं । नेपाल भ्रमणमा रहेको भारतको राष्ट्रिय रक्षा महाविद्यालयको प्रतिनिधिमण्डलको प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता नहुने भएको छ ।
प्रधानमन्त्री देउवाको कार्यव्यस्तताका कारण पूर्वनिर्धारित भेट रद्द भएको नेपाली सेनाले जनाएको छ ।
सेनाका प्रवक्ता सन्तोष बल्लभ पौड्यालले प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम तय भएपनि कार्यव्यस्तताका कारण भेटवार्ता नहुने बताए ।
यसैबीच, सो टोलीले सोमबार काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रा तथा दूतावासका अन्य अधिकारीसँग अन्तरक्रिया गरेको छ ।
भारतीय सेनाका रियर एडमिरल धिरेन भिग नेतृत्वको उक्त प्रतिनिधिमण्डललाई दूतावासका अधिकारीले नेपाल–भारतको सैन्य सहकार्यलगायतका विविध विषयमा ब्रिफिङ गरेका थिए ।
प्रतिनिधिमण्डललाई भारतीय राजदूत क्वात्राले स्वागत गरेका थिए । सो टोलीको औपचारिक भेटवार्ता भोलि (मंगलबार)देखि सुरु हुने प्रवक्ता पौड्यालले जानकारी दिए ।
३९ सदस्यीय प्रतिनिधिमण्डलले रक्षामन्त्री मिनेन्द्र रिजाल, अर्थमन्त्री जनार्दन शर्मा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।
सात दिने नेपाल भ्रमणका क्रममा भारतीय प्रतिनिधिमण्डलले नेपाली सेनाको मुख्यालय, मध्य कमाण्ड हेडक्वार्टर पोखरा र कमाण्ड तथा स्टाफ कलेज शिवपुरीको भ्रमण गर्नेछ ।
भारतको नेसनल डिफेन्स कलेजका अधिकारीहरुले नेपाली सेनाका अधिकारीहरुसँग साक्षात्कार गर्नेछन् ।
त्यस बाहेक टोलीले पशुपतिनाथ र मुक्तिनाथको पनि दर्शन गर्नेछ । नाम्चेस्थित होटल एभरेस्ट भ्यूको अवलोकन गर्ने पनि कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्