प्रदेश १ र वागमती प्रदेशमा यसै साता मुख्यमन्त्री फेरिदैँ



काठमाडौं । प्रदेश १ र वागमती प्रदेशमा यसै साता मुख्यमन्त्री फेरिने भएका छन् । दुईवटा प्रदेशमा अल्पमतमा परेका मुख्यमन्त्री फेरिने भएका हुन् ।
नेकपा एमाले विभाजनपछि दुवै प्रदेशका मुख्यमन्त्री अल्पमतमा परेका छन् ।
वागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरिसकेकी छन् ।
कार्तिक ४ गते बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मतदान प्रक्रिया अघि बढाइने छ ।
यस्तै, प्रदेश १ प्रदेशसभाको बैठक कार्तिक ५ गते शुक्रबारका लागि आह्वान गरिएको छ ।
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पनि प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।
सत्तारुढ दल विभाजन भएपछि मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाका कारण दुवै प्रदेशका मुख्यमन्त्री विश्वासको मत लिन बाध्य भएका हुन् ।
वागमती प्रदेशमा सत्तारुढ दल नेकपा एमाले अल्पमतमा परेको छ । १०९ सदस्यीय प्रदेशसभामा एमालेसँग ४३ सांसदमात्र छन् ।
बहुमतका लागि कम्तीमा ५५ सांसदको समर्थन आवश्यक हुन्छ ।
यसैगरी, प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पनि प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने आधार देखिँदैन ।
९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ सांसद आवश्यक हुन्छ । तर सत्तारुढ दल नेकपा एमालेसँग ४१ सांसदमात्र छन् ।

प्रतिक्रिया दिनुहोस्