पोखरामा ‘वुमन्स पावरलिफ्टिङ च्याम्पियनसीप’ हुने



पोखरा । पोखरामा कात्तिकको पहिलो हप्ता ‘वुमन्स पावरलिफ्टिङ च्याम्पियनसीप’ हुने भएको छ । गोर्खा क्लासिक नेपालको आयोजनामा पोखरामा कात्तिक ५ र ६ गते सो च्याम्पियनसीप हुने भएको हो । दुई वर्षअघि वुमन्स ‘बिकिनी एण्ड फिजिक च्याम्पियनसीप’ गरेको गोर्खा क्लासिक नेपालले यस वर्ष ‘वुमन्स पावरलिफ्टिङ च्याम्पियनसीप’को नाममा प्रतियोगिता गर्न लागेको आयोजकले सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
प्रतियोगितामा ६० केजी माथि र ६० केजी तल गरेर २ विधामा प्रतिष्पर्धा हुने आयोजक गोर्खा क्लासिक नेपालका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिए । उनका अनुसार सो तौल समूहमा पर्ने नेपाल भरका जुनसुकै महिलाले प्रतियोगितामा भाग लिन पाउने छन् ।
प्रतियोगितामा भाग लिन हालसम्म २० जना महिलाले फारम भरिसकेको अध्यक्ष गुरुङले बताए । प्रतियोगितामा कुल ५० जनाले सहभागिता जनाउने अपेक्षा गरिएको उनले बताए । नेपालका प्रख्यात खेलाडीदेखि नवप्रवेश खेलाडीसम्मले प्रतियोगितामा भाग लिने उनले दाबी गरे ।
पर्यटकीय नगरी पोखरालाई खेल पर्यटनमार्फत अन्तर्राष्ट्रिय रुपमा चिनाउन सघाउ पु¥याउने उद्देश्यले प्रतियोगिता गर्न लागेको अध्यक्ष गुरुङले बताए । ‘यो खेलकुदको राजधानीपनि हो, यसको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै खेलकुदको विकास गर्ने हाम्रो उद्देश्य हो’, उनले भने । उनले प्रतियोगिता हरेक २÷२ वर्षमा गर्दै जाने पनि बताए ।
प्रतियोगिताको प्रत्येक विधाका विजेताले २५÷२५ हजार, उपविजेताले १५÷१५ हजार र तृतीय हुनेले १०÷१० हजार पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै दुबै विधाका विजेताहरुबीच हुने फाइनल प्रतिष्पर्धामा उत्कृष्ट हुने एक जनालाई टाईटल विजेताको उपाधिसहित नगद ८० हजार र गोर्खा क्लासिक बेल्ट प्रदान गरिने अध्यक्ष गुरुङले बताए । उनका अनुसार टाइटल विजेतालाई दिइने बेल्ट बेलायतबाट मगाइएको हो । सो बेल्टको मूल्य मात्रै करीब ५० हजार पर्ने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्