इङ्लिस प्रिमियर लिग : क्रिष्टल प्यालेससँग आर्सनल बराबरीमा रोकियो



काठमाडौँ : इङ्लिस प्रिमियर लिगमा आर्सनल र क्रिष्टल प्यालेस बीचको खेल बराबरीमा राकिएको छ । प्याट्रिक भिएराको प्रशिक्षणमा रहेको क्रिष्टल प्यालेससँग आर्सनलले २–२ को बराबरी गर्न सफल भएको हो । गएराति बैकल्पिक खेलाडी एलेक्जेन्डर लाकाजेटले अन्तिम समयमा गरेको गोलबाट आर्सनल हारबाट जोगिएको थियो । लाकाजेटले पाँच मिनेट इन्जुरी समयको पनि अन्तिम मिनेटमा गोल गरेपछि आर्सनल लिगमा पाँच खेलसम्म अपराजित यात्रालाई कायम राख्न सफल भयो ।

२८ अगष्टमा म्यानचेस्टर सिटीसँग ५–० ले हारेपछि आर्सनल लिगमा अपराजित छ । लन्डनस्थित इमिरेट्स रंगशालामा पिइरे–इमिरिक औबमेयाङको गोलबाट आर्सनलले आठौं मिनेटमा अग्रता लिएको थियो । ५०औं मिनेटमा क्रिष्टल प्यालेसका क्रिष्टियन बेन्टेकेले बराबरी गोल फर्काए । ७३औं मिनेटमा ओडसोने इडुवार्डले गरेको गोलबाट क्रिष्टल प्यालेसले अग्रता लियो । अन्तिम समयमा लाकाजेटले गोल गरेपछि आर्सनल घरेलु मैदानमा एक अंक लिन सफल भयो । लाकाजेट ६७औं मिनेटमा मार्टिन ओडेगार्डको स्थानमा मैदान छिरेका थिए ।

क्रिष्टल प्यालेस प्याट्रिक भिएराको प्रशिक्षणमा छ । उनले आर्सनलको कप्तानी पनि गरेका थिए । भिएरा गत जुलाईमा क्रिष्टल प्यालेसको प्रशिक्षक नियुक्त भएका हुन् । क्रिष्टल प्यालेसले उनको प्रशिक्षणमा खेलेको आठमध्ये एक खेलमात्र जित्न सफल भएको छ । आठ खेलबाट आठ अंक जोडेको क्रिष्टल प्यालेस १४औं स्थानमा छ । समान खेलबाट ११ अंक जोडेको आर्सनल भने १२औं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्