सेती नदीमा पानीको बहाव बढ्यो, आवतजावतमा रोक



डोटी : डोटीको सिलगढीसहित यहाँका दुई जिल्ला अछाम तथा बाजुरा जोड्ने सेती नदीमाथिको मोटर पुल खतरामा परेको छ । तीन दिनदेखिको लगातारको वर्षातका कारण नदीमा पानीको बहाव एकाएक बढेपछि सो पुल भएर सञ्चालन हुने यातायात सेवा ठप्प भएको छ । नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ । सेती नदीमा आएको बाढी पुलमाथि पुग्न थलेको दिपायल सिलगढी नगरपालिका–२ दिपायलका स्थानीयवासी चन्द्र पाठकले बताए । 

‘नदीमा पानी निकै बढेर पुल छोएको छ, बाढी लगातार बढे पुल नै खतरामा पर्ने अवस्था सिर्जना भएको छ,’ उनले भने । बाढीले पुल छोएपछि बिहानदेखि उक्त पुलमा सवारीसाधन आवतजावतमा रोक लगाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायव निरीक्षक रुपसिंह थापाले बताए । ‘बाढीले पुल छोएकाले सवारी आवागमन बन्द गरेका छौँ,’ उनले भने । पुलमा आवतजावत बन्द गरिएपछि तराईबाट डोटीको सदरमुकामलगायत छिमेकी जिल्ला अछाम तथा बाजुरा जानका लागि आएका दर्जनौँ सवारी साधन पिपल्ला बजारमा रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायल कुल्पातेले जनाएको छ । सेती नदीमा आएको बाढीका कारण सो वरपरका बस्तीसमेत डुबानमा परेको दिपायल पुलबजारकी स्थानीय मेरिसा परियारले बताइन् ।

‘सेतीमा निकै ठूलो बाढी आएको छ, बाढी पुल बजारका पसल तथा घरमा समेत पसेको छ, हामी रातभरि सुत्न पाएका छैनौँ,’ उनले भने ।  अहिले पनि भारी बर्षात भइरहेको छ । बर्षातका कारण सोमवार दिउँसोदेखि जिल्लामा विद्युत् सेवा पनि अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण दिपायलका भरतबहादुर द्वारियाले जानकारी दिए । उनका अनुसार यहाँका पहाडी जिल्लामा वितरण गरिएको ३३ केभीए प्रसारण लाइनमा रुख परेका कारण विद्युत् सेवा अवरुद्ध भएको हो । अवरुद्ध विद्युत् सेवा सञ्चालनका लागि कर्मचारी परिचालन गरिएको भए पनि वर्षा नरोकिएका कारण मर्मत गर्न सकिएको छैन । डोटीको गोपघाट र दिपायलस्थित समुहगाढमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ । सेती नदीमा गरिएको पानीको बहाव मापनअनुसार ८।४ क्युसेक पुगेको छ । यो ‘वार्निङ प्वाइन्ट’ भन्दा माथि हो । केन्द्रका अनुसार ३।५ क्युसेक बाढीको बहाव हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ । नदीले यहाँका धान रोपेका खेतमा समेत कटान गरी बगाउन थालेको शिखर नगरपालिका–२ कालागाढका स्थानीय तेजबहादुर बोगटीले जानकारी दिए । सेती नदीमा बाढी आएका कारण नदी आसपासका बस्ती बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयवासी त्रसिद बनेका छन् ।

नदीमा पानीको बहाव बढ्दै गएको र वर्षा पनि नरोकिएकाले नदी आसपासका नागरिकलाई नदी क्षेत्रमा नजान तथा विशेष गरी रातिको समयमा सचेत रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताए । लगातारको वर्षाका कारण बाढीपहिरो आउने खतरा बढेकाले विपद् व्यवस्थापनमा जुट्न जिल्लाका तीनवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई ‘हाइअलर्ट’ मा बस्न निर्देशन दिइएको उनले जानकारी दिए । यसै गरी नदीमा पानीको बहाव बढ्न थालेसँगै इलाका प्रहरी कार्यालय दिपायल, प्रहरीचौकी तिल्तालीको टोलीले नागरिकलाई नदी क्षेत्रमा नजान तथा सचेत रहन माइकिङ गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

विपद् तथा नदीबाट हुने खतराबाट जोगिन २४ सै घण्टा सुरक्षाकर्मीलाई ती क्षेत्रमा अनुगमन गर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए । वर्षाकै कारण यहाँका विभिन्न ठाउँमा पहिरो गएको छ भने एक दजर्नभन्दा बढी ग्रामीण सडक अवरुद्ध भएका छन् । वर्षात शुरू भएसँगै जिल्लाको ग्रामीण भेगका अधिकांश सडक अहिले सवारी साधन गुड्न नसक्ने अवस्थाका भएका छन् । जोरायलमा रहेको कर्नासो नदी तथा विपीनगरमा रहेको ठूलीगाडमा समेत पानीको सतह निकै बढेकाले सतर्क रहन आग्रह गरिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बाढीका कारण अहिलेसम्म भने जिल्लामा मानवीय क्षति नभएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्