आज स्कटल्यान्ड र पपुवा न्युगिनी तथा ओमान र बंगलादेश प्रतिस्पर्धा गर्दै



काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत पहिलो चरणको खेलहरूमा मंगलबार दुई खेल हुँदै छ ।
ओमानस्थित अल इमिरेट क्रिकेट मैदानमा हुने पहिलो खेलमा स्कटल्यान्डले पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्नेछ । दुई टोलीबीचको खेल नेपाली समयानुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ ।
समूह ‘बी’मा रहेको स्कटल्यान्ड खेलमा जित निकाल्दै सुपर–१२ मा प्रवेशका लागि आफूलाई बलियो बनाउने योजनामा हुनेछ । स्कटल्यान्डले पहिलो खेलमा बंगलादेशलाई ६ विकेटले हराएको थियो ।
पीएनजी भने पहिलो जितको खोजिमा हुनेछ । पहिलो खेलमा ओमानसँग १० विकेटले पराजित भएको पीएनजी मंगलबारको खेलमा जित निकाल्दै सुपर–१२ मा प्रवेशमा आफ्नो सम्भावना कामय राख्ने योजनामा हुनेछ । खेलमा पराजित भएमा भने पीएनजीको अघिल्लो चरण प्रवेश सम्भावना मुस्किल हुनेछ ।

यस्तै मंगलबार नै हुने दोस्रो खेलमा घरेलु टोली ओमान र बंगलादेशले प्रतिस्पर्धा गर्दै छन् । अल इमिरेट क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयानुसार साँझ ७ः४५ बाट सुरु हुनेछ ।
प्रतियोगितामा बलियो मानिएको बंगलादेश पहिलो जितको खोजीमा हुनेछ । बंगलादेश पहिलो खेलमा स्कटल्यान्डसँग ६ विकेटले पराजित भएको थियो ।
त्यसैले बंगलादेश खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्ने योजनामा छ । बंगलादेश पराजित भएमा भने अघिल्लो चरण प्रवेश कठिन बन्नेछ ।
विश्वकपको पहिलो चरणमा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा बंगलादेश, श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन् । यसका चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् ।
सुपर–१२ को समूह २ मा भारत र पाकिस्तानसँगै न्युजिल्यान्ड, अफगानिस्तान र पहिलो चरणको समूह ‘बी’ विजेता र समूह ‘ए’ को उपविजेता यस समूहमा रहनेछन् ।
यस्तै, समूह १ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज छन् । पहिलो चरणको समूह ‘ए’को विजेता र समूह ‘बी’को उपविजेता यस समूहमा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्