सर्लाहीमा हुलाकी सडक यसै वर्ष सम्पन्न हुन्छ : मन्त्री यादव



सर्लाही । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले सर्लाहीको हुलाकी सडक यस वर्ष निर्माण हुने बताएका छन् ।
मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला सर्लाही आएका उनले सोमबार सदरमुकाम मलंगवामा पत्रकारहरूसँग हुलाकी सडक निर्माणमा अब ढिलाइ नहुने बताएका हुन् ।
यसअघि बजेट विनियोजन गर्दा प्रदेश सरकारअन्तर्गत परेको भएपनि यस वर्ष भने संघीय सरकारमातहत राष्ट्रिय गौरवको आयोजनामा परेकाले सडक बन्नेमा आफू विश्वस्त रहेको मन्त्री यादवको भनाइ छ ।
सर्लाहीको निर्वाचन क्षेत्र २ का संघीय सांसद एवं जनता समाजवादी पार्टी (जसपा)का नेतासमेत रहेका मन्त्री यादव हुलाकी सडकको निर्माण अघि बढाउन माग गर्दै केही महिनाअघि सदरमुकाम मलंगवामा धर्नामा बसेका थिए ।
नेताहरू नै धर्नामा बसेर दबाब दिँदासमेत हुलाकी सडक निर्माणले गति लिन सकेको छैन । पानी पर्दा हुलाकी सडकको पूर्वमा संग्रामपुरदेखि पश्चिममा बलरासम्मको खण्डमा हिलाम्मे र घाम लागेको समयमा धुलाम्मे हुने भएकाले सर्वसाधारणले कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ ।
सञ्चारकर्मीसँग मन्त्री यादवले मलखादको समस्या र उखु किसानको पीडा सम्बोधन हुने गरी काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्