३ जनाको मृत्यु, २ घाइते, एक बेपत्ता



धनगढी । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण सुदुरपश्चिममा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीका दुई र डडेल्धुराका एक जना छन ्। यस्तै डडेल्धुरामा दुई जना घाइते भएका छन् । कैलालीमा एक जना बेपत्ता भएका छन् ।
पहिरोका कारण बझाङमा ३, डोटीमा १ र डडेलधुरामा २ वटा घर भत्किएको सुदुरपश्चिम प्रदेश प्रहरीले जानकारी दिएको छ । बझाङको बागथला प्रहरी चौकी डुबानमा परेको छ ।
कैलाली, डोटी, डडेल्धुरा, बझाङ र अछाममा सडक समेत अवरुद्ध भएका छन् । इलाका प्रहरी कार्यालय फल्टुडे कैलालीका अनुसार चुरे गागरपालिका ३ सल्लाघारी स्थित भिमदत्त राजमार्ग अवरोद्ध भएको छ । सडक डिभिजनसँग सडक खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ ।
कञ्चनपुरमा महाकाली नदीको वहाव उच्च भएपछि आवतजावत नै बन्द गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी चौकी गड्डाचौकी कंचनपुरका अनुसार भिमदत्त नगरपालिका १२ ओदाली र ऐरी घाटमा करिव डेढसय घर परिवार डुवानमा परेका छन् । दोधारा चादनी नगरपालिका १० कुतीया कभर, शान्तीटोल, बैदीफाटा र निशानीटोलमा माहाकाली नदीको बाढीका कारण करिव ७० घर डुवानमा परेको इलाका प्रहरी कार्यालय दोधाराले जानकारी दिएको छ । डुवानमा रहेका ४० परिवारलाई ओमकार आधारभुत बिद्यालयमा र २० घर परिवारलाई आफन्तको घरमा सारिएको छ । बझाङमा केदारस्यु गाउँपालिका १ नारीगौडाखोलाले जयपृथ्वि राजमार्गमा क्षति पु¥याएको छ ।
प्रहरी बेस देउलेखका अनुसार बित्थडचिर गाउँपालिका ५ बोहराटोलमा पहिरोका कारण तीनवटा घरमा क्षति पुगेको छ ।
अस्थायी प्रहरी पोष्ट बागथलाको कार्यालयभित्र बाढी पसेको छ । अहिले प्रहरी कार्यालय शिक्षोदय माबि बागथला सरेको छ ।
डोटीमा भिमदत्त राजमार्ग अन्तर्गत गोल्डेन स्थिति सडक अवरुद्ध भएको छ । सायल गाउँपालिका ६ मेल्लेखका बिरबहादुर कुन्जेडाको घर भत्किएको छ । एक जना घर भित्रै च्यापिएका छन् । एक जनाको शव फेला परेको छ ।
अछाममा चौरपाटी गाउपालीका ६ दुनी भावर भिरमा सडक अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय र प्रहरीले अहिले एकतर्फी सडक सुचारु गरेको छ । डडेल्धुरामा पहिरोमा च्यापिएर एक जनाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका १ भात्काडामा घर भत्किँदा ३२ वर्षीय बिष्णु अवस्थीको मृत्यु भएको हो । उनकी ६ वर्षीया छोरी सरिता घाइते भएकी छन् ।
बाहिरको कोठामा रहेका उनकी श्रीमती, छोरी र छोरा सकुसल रहेका भात्काडा प्रहरीले जानकारी दिएको छ ।
डडेल्धुरा अमरगढी नगरपालिका १ तडीपाटाका भिम रावलको घर पहिरोले भत्काएको छ। उनकी बुहारी २५ वर्षीया देवकी रावल, ७ वर्षीय ग्रिस रावल घाइते भएका छन् ।

बग्यो भाइरल रोड
आइतबारदेखिको अविरल वर्षापछि महाकाली नदीमा आएको बाढीले निर्माणाधीन चार लेनको पक्की पुलको पहुँच (भाइरल रोड) मार्गमा क्षति पु¥याएको छ । भीमदत्त नगरपालिका १२ मा पर्ने करिब सय मिटर जति पहुँच मार्ग नदीले कटान गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार महाकालीमा मंगलबार पानीको बहाव ५ लाख ४ हजार क्युसेक पुगेको छ । नदीले पहुँच मार्ग कटान निरन्तर गरिरहेको छ । ६ लेनको सडकमध्ये सय मिटरसमम तीन लेन सडक कटान गरिसकेको छ ।
यसैगरी महाकाली नदीको बाढी भुजेला खोला हुँदै बस्तीमा पसेपछि नदी किनारका भीमदत्त नगरपालिका ११, १२ र १३ का सयौं घरहरु डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–९ खल्ल मसेट्टीमा पनि बाढी बस्तीमा पस्दा दर्जनौं घरहरु डुबानमा परेका छन् ।
यसैबीच महाकालीको बाढीका कारण बीच भागमा फसेका मसेट्टीका ५ जनाको अझै उद्धार हुन सकेको छैन । नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गर्ने भने पनि प्रतिकुल मौसमका कारण सम्भव नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नदीमा पानीको बहाव बढ्दै गएपछि टापुमा फसेकाहरुलाई झनै जोखिम बढ्दै गएको छ । उनीहरु सोमबार रातिदेखि टापुमा फसेका हुन्

६० जना उद्धारको पर्खाइमा
बैतडीको सिगास गाउँपालिका–५ को ढुंगाड बस्तीमा सेती नदीको बाढी पसेको छ । बस्तीको दायाँबायाँबाट बाढी पसेर टापु बनाएको छ ।
१०५ घरधुरी रहेको बस्तीमा सोमबार राति १ बजेदेखि बाढी पसेको वडाध्यक्ष रामबहादुर धामीले बताए । उनका अनुसार राति धेरै स्थानीय भागेर ज्यान बचाउन सफल भएका छन् । ६० जना जति अहिले पनि फसिरहेको उनले जानकारी दिएका छन् । टापुमा फसेकाहरू अहिलेसम्म सुरक्षित रहेको तर खतरामा रहेका खबर पाएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्