एमसीसीमा धाकधम्की दिएर हुन्छ ? झलनाथ



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता तथा सांसद झलनाथ खनालले एमसीसीजस्तो विवादित विषयमा जबरजस्ती गर्न नहुने बताएका छन् ।
बुधबारको संसद् बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले विवादित विषयमा टुंगोमा पुग्न लामो समय लाग्न सक्ने बताए ।
‘लोकतन्त्रमा अनेकन विषयमा बहस हुन्छ । विवाद हुन्छ र कतिपय कुराहरू मिल्दैन । नमिलेका कुराहरूमा जबरजस्त ठेल्न पनि हुँदैन । कतिपय विषयहरू १०औँ वर्ष लाग्न सक्छ । संशोधन हुन पनि सक्छ,’ उनले भने ।
यस्तो विषयमा धाकधम्की नदिन चेतावनी समेत उनले दिए । ‘असहमतिको विषयममा बल प्रयोग गरेर हुन्छ ? धाकधम्की दिएर हुन्छ ?,’ उनको प्रश्न थियो ।

मसीसी अध्ययन कार्यदलका संयोजकसमेत रहेका खनालका अनुसार एमसीसी नेपाली जनताको सर्वोपरी हितविपरीत छ ।
‘नेपालको हितलाई सर्वोपरी राखेर यो एमसीसी सम्झौता सुरुमै भएन । नेपाली जनतालाई थाहा नदिइकन, राम्ररी अध्ययन नगरिकन, के गर्दा राष्ट्रको हित हुन्छ भन्ने बुझ्दा पनि नबुझिकन र ती दस्तावेजहरू राम्रोसँग अध्ययन पनि नगरिकन नेपाली जनतालाई गुमराहमा राखेर सम्झौता गरियो । यो सम्झौता राष्ट्रघाती छ, संशोधन नगरिकन पास गर्न सकिँदैन’, खनालले पत्रकारहरूसँग संसद् बैठकपछि भने ।
उनले सम्झौताका केही प्रावधानहरू राष्ट्रघाती भएको जिकिर गरे । ती प्रावधानहरू संशोधन हुनुपर्ने र त्यसपछि मात्र पारित गर्न सकिने धारणा राखेका छन् । तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार छँदा खनाल नेतृत्वमा एमसीसी अध्ययन कार्यदल गठन गरेको थियो । कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवालाई अध्ययन प्रतिवेदन बुझाइसकेको छ । ा

प्रतिक्रिया दिनुहोस्