कांग्रेस नेता साउदले गरे बाढीग्रस्त क्षेत्रको निरीक्षण



कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले महाकाली नदीको बाढीले क्षति पु¥याएको क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।
महाकाली नदीमा पानीको बहाब बढेपछि डुबानमा परेका भीमदत्त नगरपालिका–१२ मा पर्ने भुजेला, ऐरी, महाकाली पक्की पुलको पहुँच मार्गलगायत क्षेत्रको उनले निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा नेता साउदले पीडितलाई राहत, क्षतिपूर्ति दिलाउन सरकारसँग पहल गर्ने बताए । उनले स्थानीय, प्रदेश र केन्द्र सरकारसँगै प्रशासन र सरोकारवालाहरुलाई तत्काल उद्धार र राहतमा खटिनसमेत आग्रह गरे ।
आफू सिँचाईमन्त्री भएको समयमा भुजेलाको बस्ती जोगाउनका लागि बनाइएको पाँच किलोमिटरको तटबन्धको पनि उनले निरीक्षण गरेका छन् । त्यस क्रममा कांग्रेस नेता साउदले बाढी पीडीतसँग साक्षात्कार पनि गरेका थिए ।
अबिरल वर्षापछि महाकाली नदीमा आएको बाढीले तटीय क्षेत्र अन्तर्गत पर्ने भीमदत्त नगरपालिका र दोधारा–चाँदनी नगरपालिकाका बस्ती डुबानमा परेका छन् । बाढीले महाकाली नदीमाथि निर्माणाधीन चार लेनको पक्की पुलको पहुँच मार्ग कटान गरेको छ ।
महाकाली नदीमा पछिल्लो सात दशकयताकै सबैभन्दा बढी पानीको बहाव आएको छ । महाकाली नदीमा मंगलबार पानीको बहाव पाँच लाख ३१ हजार क्युसेक पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्