‘ए डिभिजन लिग’मा हिमालयनसँग रोकियो आर्मी



काठमाडौं । हिमालयन शेर्पा क्लबसँग १-१ को बराबरी रोकिएसँगै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले अंक बाढेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा १० खेलाडीमा समेटिएको आर्मी सुरुआती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो ।

खेलको २६औँ मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६५औँ मिनेटमा मुताम्बा पिस्टोनले गोल गर्दै हिमालयनलाई १-१ गोलको बराबरीमा ल्याए ।

आर्मीका गोलकिपर विकेश कुथुले इन्जुरी समयमा रातो कार्ड पाएपछि आर्मी १० खेलाडीमा सिमित भयो । बराबरीसँगै आर्मीले ११ खेलमा १९ अंक जोडेको छ । आर्मी लिगको तेस्रो स्थानमा छ । हिमालयनले ११ खेलमा १३ अंक जोडेको छ ।

यता, सातदोबाटो युथ क्लबलाई १-० अन्तरले पराजित गर्दै मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि लगातार दोस्रो पटक  जितेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी नोर्लान नोभ्रुजोभले निर्णायक गोल गरे ।  खेलको ५३औँ मिनेटमा अजरबैजानका खेलाडीले निर्णायक गोल गरेका हुन् ।

जितसँगै शीर्ष स्थानको मछिन्द्रले ११ खेलमा २९ अंक जोडेको छ । मछिन्द्र दोस्रो स्थानको मनाङ मर्स्याङ्दी भन्दा ९ अंकले अघि रहेको छ । मनाङको २० अंक रहेको छ । सातदोबाटोले ११ खेलमा १५ अंक जोडेको छ । सातदोबाटो छैटौँ स्थानमा रहेको छ ।

यसअघि मछिन्द्रले २०७६  सालमा पहिलो पटक शीर्ष डिभिजन लिगको उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्