सिटिजन बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ



काठमाडौं । मोरङको कर्सियास्थित सिटिजन बैंकमा लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
धनपालथान गाउँपालिका वडा नम्बर ४ कर्सियास्थित बिपी चोकमा रहेको सिटिजन बैंकमा गत असोज २५ गते दिउँसो लुटपाट भएको थियो। त्यसमा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो।
अनुसन्धानको क्रममा प्रहरीले थप एक जना भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
पक्राउ पर्नेमा भारत अररिया फारवेसगञ्ज १० बस्ने २० वर्षीय रोशन यादव छन्। उनलाई प्रहरीले सुनवर्षी नगरपालिका वडा नम्बर ८ सिक्टी नेपाल(भारत सीमा क्षेत्रबाट सोमबार पक्राउ गरेको हो।
गत सोमबार आठ हतियारधारीको समूहले बैंकमा लुटपाट गरेको प्रहरीको भनाइ छ। बैंकको कर्सिया शाखाका अनुसार २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ लुटपाट गरिएको छ। सो रकम सोही लुटेरा समूहले लगेको आशंका प्रहरीको छ।
प्रहरीले लुटपाटमा संलग्न दुई जना भारतीयसहित तीन जनालाई यसअघि नै पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा भारतको अररिया जिल्लाको शिवपुरदेखि ३२ वर्षीय सुनिल यादव, भारत गौराहाका ३५ वर्षीय विजय बहरदार र विराटनगरका ३२ वर्षीय श्याम मुखिया छन्।
प्रहरीले उनीहरूलाई भारततर्फ भाग्न लाग्दा सीमा नाकाबाट पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी जिसीले जानकारी दिएका थिए।
उनीहरू को २५ प ३८९९ नम्बरको पल्सरमा भारतर्फ भाग्न खोज्दा प्रहरीले पक्राउ गरेको थियो।
प्रहरीका अनुसार चार वटा मोटसाइकलमा आएका ८ जनामध्ये चार जनासहित एउटा मोटरसाइकल र लुटपाटमा प्रयोग भएको पेस्तोल पनि भेटिएको छ।
लुटेरालाई पक्राउ गर्न खोज्दा प्रहरीले भारतीय नागरिक विजय बहरदारमाथि गोली चलाएको थियो। उनको बाँया खुट्टामा गोली लागेको थियो।
लुटपाटमा प्रयोग गरेको कटुवा पेस्तोल खैरवनास्थित बाँस झ्याङबाट बरामद गरेको प्रहरीले जनाएको छ।
सोमबार साँझसम्म बैंकले लुटपाटको असफल प्रयास भएको बताएको थियो। तर बैंकमा भएको पैसाको हिसाब गर्दा लुटेरा समूहले पैसा लगेको पुष्टि भएको हो।
मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालका अनुसार बैंकले २१ लाख ७० हजार ५ सय ६३ रूपैयाँ लुटिएको जानकारी गराएको छ। लुटपाट भएको रकम भेटिएको छैन।
लुटेरा समूह बैंकभित्र प्रवेश गर्दा सुरक्षा गार्ड शितल कुँवरले रोक्ने प्रयास गरेका थिए।
कुँवरले उनीहरूको हतियार खोस्न खोज्दा लुटेरा समूहले २ राउन्ड गोली चलायो।
सुरक्षा गार्ड ३७ वर्षीय शितलको कुममा गोली लागेको छ। उनको उपचारको लागि विराटनगरस्थित न्युरो अस्पतालमा लगिएको थियो।

प्रतिक्रिया दिनुहोस्