राजापुर र गेरुवाका एक हजार घर डुबानमा



बर्दिया । कर्णाली नदीमा मंगलबार आएको बाढीले राजापुर र गेरुवाका एक हजार घर डुबानमा परेका छन् । कर्णाली नदीले विभिन्न ठाउँमा बाँध भत्काएर राजापुर र गेरुवाका विभिन्न स्थान डुबानमा पारेको हो । राजापुर नगरपालिकाको तिग्रा, चनौरा, दौलतपुर र गेरुवा गाउँपालिकाको पाताभारमा डुबान भएको छ ।
राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको विभिन्न स्थानबाट बाढीमा फसेका २ सय ५० जनालाई सुरक्षाकर्मीले उद्धार गरेका छन् । कर्णाली नदी बढ्ने क्रममा रहेकोले राजापुर र गेरुवा क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालित गरिएको छ ।
कर्णाली नदीले राजापुर नगरपालिका–१ टिउनी घाटस्थितबाट बाँध भत्काएर बस्ती डुबाएको हो । बाढी बस्तीमा पस्दा शान्ति बजार जाने सडक अवरुद्ध भएको छ । त्यसैगरी सनकट्टी घाटबाट बाँध भत्काएर कर्णाली नदीले गेरुवाको पाताभारमा डुबानमा पारेको हो ।
गत आइतबारदेखि परेको अबिरल वर्षाका कारण कर्णाली नदीमा पानीको सतह बढेको छ । मंगलबार साँझ कर्णाली नदीको जलस्तर खतरा तह १०.८ मिटर पारगरी ११.९० मिटरभन्दा माथि पुगिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
तटीय क्षेत्र गाउँबस्तीका वासीलाई सतर्क रहन राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले आग्रह गरेका छन् ।
कर्णाली नदीमा पानीको बहाव बढेकोले नदीमा नुहाउन जाने, काठ दाउरा छोप्ने र माछा मार्नेजस्ता गतिविधि नगर्न जिल्ला प्रशासनले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्