प्रधानमन्त्रीको दाबी : सरकारलाई परमादेश र जनादेश प्राप्त छ



काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारलाई सम्मानित सर्वोच्च अदालतको परमादेश र जनादेश दुवै प्राप्त भएको बताएका छन् । उनले सर्वोच्च अदालतले संविधानको व्याख्या गरेर प्रधानमन्त्री बनाउन परमादेश र प्रतिनिधि सभाको १६५ जना सांसदको विश्वास प्राप्त गरेर जनादेश पाएको स्पष्ट पारेका हुन् ।

वर्तमान संयुुक्त सरकारले सय दिन पूरा गरेको सन्दर्भमा प्रधानमन्त्रीले भने, “यो सरकारलाई परमादेश र जनादेश दुवै प्राप्त छ ।” प्रधानमन्त्री देउवाले सङ्क्रमण अन्त्य भएर मुुलुक लिकमा फर्किएको र अब संविधान सुरक्षित भएको बताए । उनले एमसीसी अमेरिकाले दिएको विकास अनुदान भएकाले यो नेपालको हितमा रहेको दाबी गर्दै भने, “अब यसमा विवाद गर्नु आवश्यक छैन । यसलाई छिटो पारित गर्नुपर्छ ।”

अब मुलुक राजनीतिक स्थिरतातर्फ उन्मुख भएको बताउँदै समयमै तीन तहको निर्वाचन गराउने प्रतिबद्धता प्रधानमन्त्री देउवाले व्यक्त गरे । प्रधानमन्त्री देउवाले खुला अर्थतन्त्रलाई प्रोत्साहित गर्ने नीति लिएको बताए । यो सरकारले छिमेकी देश भारत र चीनसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको प्रस्ट्याउँदै भने, “भारत र चीनसँग राम्रो सम्बन्ध राख्नु नेपालको हितमा रहेको छ ।”

अहिले कमसेकम अन्योलको अवस्थाबाट ग्रस्त भएको देशलाई लिकमा ल्याएको उल्लेख गर्दै प्रधानमन्त्रीले आगामी चैतसम्म सबै नेपालीलाई खोप लगाइसक्ने सरकारको लक्ष्य रहेको बताएका छन् ।

यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्