कैलालीमा झण्डै २०० घर डुबानमा, ३ जना सम्पर्कविहीन



धनगढी : कर्णाली नदीमा आएको बाढी गाउँ पस्दा पूर्वी कैलालीमा झण्डै दुई सय घर डुबानमा परेका छन् । मंगलबार राति करिब १ बजेको सयमा कर्णालीको बाढी टीकापुर नगरपालिका–५ साइपुरबाट कालाकुुण्डा हुँदै मोहना नदीलाई समेत थुन्दा कालाकुण्डा र अर्नाफाटाका ८० घर डुबानमा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले दिएको जानकारी अनुसार बाढीले इलाका प्रहरी कार्यालय टीकापुर र साइपुर क्षेत्रका थप ७० घर पनि डुबानमा परेका छन् ।

उनकाअनुसार जानकी गाउँपालिका वडा नम्बर ७ र ८ मा पनि बाढीले झण्डै ४० घर डुबानमा परेका छन् भने कैलारी गाउँपालिकाको खल्लाफाटामा पनि २५ घर डुबानमा परेका छन् । डीएसपी विष्टले नदीले घर डुबाएपछि प्रभावित भएका स्थानीयलाई राति नै कालिका माध्यमिक विद्यालय र आफन्तको घरमा सारिएको जानकारी दिए ।

यसैबीच कर्णाली नदीमा माछा मार्न गएका तीन जना बेपत्ता भएका छन् । सोमबार नदीमा माछा मार्न गएका लम्कीचुहा नगरपालिका–३ ढुङ्गे बजारका ६१ वर्षीय खड्कबहादुर घर्तीमगर, ३५ वर्षीय विक्रम घर्तीमगर र २६ वर्षीय खड्क रानामगर बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विष्टले बेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको जानकारी दिए ।

यस्तै कर्णाली नदीमै माछा मार्न गएका थप तीन जना फसेका छन् । माछा मार्न गएका जानकी गाउँपालिकाका विष्णु चौधरीसहितका तीन जना कर्णाली नदीको भंगालोमा फसेको जानकारी आएकाले उद्धारका लागि पहल भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्