बेमौसमी वर्षा पछिको बाढी–पहिरो : ३० जनाको मृत्यु, ३२ सम्पर्कविहीन



काठमाडौँ : अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट देशका विभिन्न जिल्लामा गरी हालसम्म ३० जनाले ज्यान गुमाएका छन् । मंगलबार रातिदेखि बुधबार बिहान १० बजेसम्म गृह मन्त्रालयमा भएको रिपोर्टिङ अनुसार ३० जनाको मृत्यु भएको हो । घटनामा ३२ जना बेपत्ता र १२ जना घाइते रहेको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार मंगलबार बैतडीको राम पार्कीको घर भत्किँदा दुई महिला र एक बालकको पुरिएर मृत्यु भएको छ । बैतडीकै सुर्नैया गाउँपालिका–५, विष्टपालीमा पहिरो जाँदा ७१ वर्षीया पारुदेवी महराको मृत्यु भएको छ । घटनामा दुई जना घाइते छन् ।

प्रदेश १ को धनकुटास्थित चौविसे गाउँपालिका–१, गेडेरेमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ । घरभित्र रहेका १२ जनामध्ये ६ जनालाई घाइते अवस्थामा उद्दार गरिएको छ । थप खोजतलास भइरहेको प्रहरीले जनाएको छ । डोटीको शिखर नगरपालिका, जोरायल गाउँपालिका र सायल गाउँपालिकामा पहिरो जाँदा ७ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता र दुई घाइते छन् ।

हुम्लाको खार्पुनाथ गाउँपालिका–५, खरेलमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता छन् । इलाममा पहिरो जाँदा तीन जनाको मृत्यु र ५ जना बेपत्ता छन् । दउमाईमा खोलाले बगाउँदा ४५ वर्षीया सरिता आचार्यको मृत्यु भएको छ । पाँचथरमा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् । ६ जना घाइते छन् । उदयपुरमा बाढीले एक जना बगाएको छ ।

प्रतिक्रिया दिनुहोस्