अभियन्ता महावीर पुन गण्डकी रत्नबाट सम्मानित



पोखरा । गण्डकी सरकारले प्रविधि अभियन्ता महावीर पुनलाई गण्डकी रत्न घोषणा गरेको छ । प्रदेशको श्रीवृद्धि र गौरव बढाउने गरी विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुयाएका व्यक्तिहरुलाई सम्मान प्रदान गर्ने गरी सुरु गरेको सम्मान पहिलोपटक पुनलाई प्रदान गरिन लागेको हो ।
प्रदेश स्थापना दिवसका दिन बुधबार सरकारले उक्त घोषणा गरेको छ। आविष्कार केन्द्र स्थापना गरेर विज्ञान प्रविधिको क्षेत्रमा अनुसन्धान, विकास र उत्पादनमा केन्द्रित पुन गण्डकी प्रदेशको म्याग्दी जिल्लाका बासिन्दा हुन् । उनले एसिया प्रशान्त क्षेत्रमा प्रसिद्ध पुरस्कार म्यागासेसे पाइसकेका छन् ।
प्रदेशबाट विशिष्ट व्यक्ति छनोट गर्न सिफारिस समिति अध्यक्षमा मन्त्रिपरिषद्का वरिष्ठ मन्त्री अध्यक्ष रहने व्यवस्था छ । सदस्यमा अर्थ र आन्तरिक मामिला मन्त्री, प्रमुख सचिव र आन्तरिक मामिलाका सचिव सदस्य सचिव रहने गरी समिति बनेको हो । समितिले बढीमा ३ जनालाई छनोट गर्ने भनेको थियो । तर पहिलोचोटि पुन एकजनालाई मात्रै सम्मान गर्ने निर्णय सरकारले गरेको छ ।
गण्डकी रत्न प्राप्त गर्ने व्यक्तिलाई प्रदेश सभा सदस्य सरहको मर्यादाक्रममा राख्ने व्यवस्था सरकारले गरेको छ । प्रदेशभित्रका विमानस्थलमा विशिष्ट कक्ष प्रयोग गर्न दिने र जीवनको उत्तराद्र्धमा संरक्षणको खाँचो पर्दा सरकारले त्यो दायित्व लिने पनि गण्डकी रत्न सम्बन्धी कार्यविधिमा छ ।
सरकारले विशिष्ट व्यक्ति सम्मान गर्न हालै कार्यविधि बनाएको थियो। गण्डकी प्रदेश सरकारले विभिन्न क्षेत्रमा उल्लेख योगदान गर्ने व्यक्तित्वलाई ‘गण्डकी रत्न’ पुरस्कार प्रदान गर्ने कार्यविधि बनाएको हो । पुस २६ गते बसेको मन्त्रिपरिद् बैठकले विशिष्ट व्यक्ति सम्मान गर्ने कार्यविधि २०७८ स्वीकृत गरेको थियो । प्रदेशभित्र शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, उद्योग, विज्ञान, पर्यटन, पूर्वाधार, विज्ञान, प्रविधि, समाजसेवा लगायतमा क्षेत्रमा उल्लेख्य योगदान गरी प्रदेशको गरिमा बढाउने व्यक्तित्वलाई सम्मान गर्ने सरकारको उद्देश्य छ ।

प्रतिक्रिया दिनुहोस्