थ्रीस्टारसँग अंक बाँड्दा पुलिस ढुक्क



काठमाडौँ । थ्री स्टार क्लब र नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिगमा बुधबार १–१ को बराबरी खेल्दै अंक बाढेका छन्।

तेस्रो स्थानको त्रिभुवन आर्मी क्लब बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा हिमालयन शेर्पासँग १–१ को बराबरीमा रोकिएपछि थ्री स्टारसामु तीन अंक जोड्दै तेस्रो स्थानमा उक्लिने अवसर भए पनि त्यसको सदुपयोग गर्न सकेन।

२१औं मिनेटमा ऋतिक खड्काको गोलमा थ्री स्टार क्लबले अग्रता लिएको थियो। संजोक राईको पासलाई ऋतिकले जाली चुमाएका थिए।

५२औं मिनेटमा रक्षक सुमन सुवेदीको गोलमा पुलिस खेलमा फर्किएको थियो। तेज तामाङको फ्रिकिकलाई सुमनले हेडरमार्फत जाली चुमाएका थिए।

यसअघि १८औं मिनेटमा थ्री स्टारका घनिफोको प्रहार पुलिसका गोलकिपर शत्रुघन चौधरीले विफल पारेका थिए। ६९औं मिनेटमा थ्री स्टारका गोलकिपर प्रिसोले रवि पासवानको प्रहार मुस्किलले जोगाएका थिए।

बराबरी पछि पुलिस पूर्ण रूपमा रेलिगेसनबाट बचेको छ। थ्री स्टार भने यस अघिनै ढुक्क भएको थियो।

थ्री स्टार ११ खेलमा १८ अंकसहित चौथो स्थानमा छ। समान खेलमा तेस्रो स्थानको आर्मीको १९ अंक छ। पुलिस क्लब समान खेलमा ११ अंकसहित १०औं स्थानमा छ।

यसअघि बुधबार दशरथ रंगशालामा सम्पन्न खेलमा साबिक विजेता मछिन्द्रले सातदोबाटो यूथ क्लबमाथि १–० को जितसहित दुई खेल अगावै लगातार शीर्ष डिभिजन लिग उपाधि रक्षा गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्