लमजुङमा १३औं पटक हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै



लमजुङ । लमजुङमा १३औं पटक हात्तीपाइलेविरुद्धको औषधी खुवाइने भएको छ। फागुनको अन्तिम सातादेखि लमजुङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको हो।

हात्तीपाइले रोग निवारणका लागि राष्ट्रिय अभियानअन्तर्गत फागुन २८ गतेदेखि जिल्लामा औषधि खुवाउने स्वास्थ्य कार्यालय लमजुङले जनाएको हो ।

लमजुङमा पनि हात्तीपाइले रोगको उच्च जोखिम रहेको भन्दै अभियानलाई निरन्तरता दिएको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए।

प्रमुख दवाडीका अनुसार लमजुङमा हात्तीपाइले रोगको उच्च जोखिम छ। स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा हात्तीपाइले रोगको प्रकोप चार प्रतिशत रहेको छ।

जिल्लामा राइनास नगरपालिकास्थित धमिलिकुवा र चक्रतीर्थलाई हात्तीपाइले रोगको उच्चजोखिम क्षेत्रको रूपमा लिइएको छ। जिल्लामा दुई वर्ष कम उमेरका बालबालिका, सिकिस्त बिरामी र गर्भवती महिला बाहेक यसवर्ष डेढलाख बढीलाई औषधि खुवाउने लक्ष्य राखिएको प्रमुख दवाडीले बताए। जिल्लामा हात्तीपाइले रोग निवारणको लागि चुनौती देखिएको छ।

जिल्लामा १२ चरणसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान चले पनि लक्ष्य अनुरूप नियन्त्रण नभएको तथ्यांकले देखाएको छ। राष्ट्रिय अभियान अन्तर्गत लमजुङमा १२औं चरणमा अघिल्लो वर्ष हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइएको थियो।

विश्व स्वास्थ्य संगठनका अनुसार ६ चरणमा अभियान सकिने भए पनि लमजुङमा अझै जोखिम रहेको भन्दै अभियानलाई निरन्तरता दिइएको छ। लक्ष्यभन्दा बढी जोखिम देखिएपछि उपलब्धि हासिल हुन नसकेको स्वास्थ्य कार्यालयले जनाएको छ। अभियानका क्रममा औषधि वितरण तथा प्रयोग प्रभावकारी नहुँदा उपलब्धि हासिल हुन नसकेको सरोकारवालाहरूको बुझाई छ।

प्रतिक्रिया दिनुहोस्