जोकोभिचलाई हराउँदै पेरिस मास्टर्स टेनिसको उपाधि काचानोभले जिते



काठमाडौं : पेरिस मास्टर्स टेनिसको उपाधि कारेन काचानोभले जितेका छन् । फाइलनमा सर्वियन नोभाक जोकोभिचलाई हराउँदै कारेन सन् २००९ पछि एटीपी मास्टर्सको उपाधि जित्ने पहिलो रसियन खेलाडी बनेका छन् । 

नयाँ बरियतापछि विश्व नम्बर एक हुने खेलाडी जोकोभिचलाई दुई शून्यको सोझो सेटमा हराउदै कारेनले करियरको ठूलो उपाधि उचाले ।

२२ वर्षीय कारेनले एक घण्टा ३७ मिनेट कोर्टमा बिताउँदै जोकोभिचलाई ७–५ र ६–४ को सेटमा पाखा लगाए । यसका साथै उनले जोकोभिचको २२ खेलको अपराजित यात्रामा पनि पूर्णविराम लगाएका छन् । १४ पटकको ग्राण्डस्लाम विजेता जोकोभिच हारपछि पनि सोमबार सार्वजनिक हुने विश्व बरियतामा शीर्ष स्थानमा उक्लनेछन् ।

उपाधिसँगै कारेन विश्व बरियतामा ११ औं स्थानमा उक्लिएका छन् । पेरिस मास्टर्सको खेल अवधीभर फ्लुबाट गुज्रिएका जोकोभिचले फाइनलमा पनि पूर्णरुपमा स्वस्थ नभएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्