गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे यान्त्रिक परीक्षण उडान आजदेखि



काठमाडौं ।  रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि यान्त्रिक परीक्षण उडान हुने भएको छ। नागरिक उड्डयन प्राधिकरणले त्यसका लागि आन्तरिक तयारी पूरा भएको जनाएको छ । परीक्षण उडानका लागि हिजो साँझ विमान भैरहवा आएको छ। विमानस्थलको प्रविधि चेकजाँच गर्न एरो थाइको क्यालिब्रेसन गर्ने हवाइजहाज भैरहवा विमानस्थलमा आइपुगेको हो।

आजदेखि १० दिनसम्म जहाजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान क्यालिब्रेसन फ्लाइटका क्रममा बिहान ११ः०० देखि दिउँसो ४ः३० बजेसम्म भैरहवा विमानस्थलको उडान पूर्णरुपमा ठप्प हुने जनाइएको छ। कम उचाइमा जताततै उडेर विमानस्थलमा जडित यन्त्रको परीक्षण गर्नुपर्ने भएकाले जहाजको उडान रोक्नुपरेको प्राधिकरणले  जनाएको छ। भैरहवा विमानस्थलमा दैनिक २० वटासम्म उडान हुने गरेको थियो।

प्राधिकरणले यात्रुलाई सहज बनाउन बिहान र बेलुकी उडानको समय दिएको छ भने शनिबार क्यालिब्रेसन फ्लाइट नहुने भएकाले उक्त दिन पुरानै तालिकामा उडान हुने जनाएको छ। जडित यन्त्र परीक्षणको समयतालिकामा अवरोध हुने भएपछि साढे पाँच घण्टा उडान रोकेको प्राधिकरणले जनाएको छ। नेपालमा सञ्चालनमा रहेका ३५ वटा विमानस्थलमध्ये पूर्णरुपमा यान्त्रिक हिसाबले अवतरण गर्न सक्ने गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल नै पहिलो रहेको प्राधिकरणले जनाएको छ।

फागुन १५ गतेसम्म क्यालिब्रेसन फ्लाइट हुने छ भने त्यसपछिको रिपोर्टका आधारमा परीक्षण उडान गरी नियमित उडानका सुरु हुने प्राधिकरणको भनाइ छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि अन्तर्राष्ट्रिय उडान भर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुनेछ।

प्रतिक्रिया दिनुहोस्