बाढीपहिरोबाट सुदूरपश्चिममा ३३ जनाको ज्यान गयो



बैतडी । सुदूरपश्चिम प्रदेशमा बाढीपहिरो तथा डुबानबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।
असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृतिक विपद्बाट शुक्रबार बिहानसम्म यस प्रदेशमा ३३ जनाको मृत्यु भएको हो । बाढीपहिरो, डुबानमा परी सुदूरपश्चिममा सबैभन्दा बढी बझाङमा भएको छ ।
त्यसपछि डोटीमा मानविय क्षति भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार बझाङमा नौ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता छन् । डोटीमा १६ जनाको मृत्यु भएको छ । बैतडीमा चार, डडेलधुरामा तीन र कैलालीमा एक जनाको मृत्यु भएको छ । बझाङमा २० सहित २२ जना बेपत्ता रहेका छन् ।
बेपत्ता हुनेमा बैतडी, कैलालीमा एक÷एक जना छन् । यस्तै १७ जना घाइते भएका छन् । घाइते हुनेमा डोटीमा ११, डडेलधुरामा दुई, बैतडीमा दुई र बझाङ र बाजुरामा एक÷एक जना छन् । विपदका घटनामा बाजुरा, डोटी, डडेल्धुरा, बझाङमा गरी एक सय बढी पशु चौपाया पनि मरेका छन् ।
पहिरोका कारण बझाङमा १२, डोटीमा छ र डडेल्धुरामा दुई गरी २० घरमा पूर्णरुपमा क्षति पुगेको छ । बाढीका कारण यहाँका दुई सय १६ घरधुरी डुबानमा परेकोमा चार सय ३० जनाको नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको जनाइएको छ ।
बाढीपहिरोकै कारण करोडौंको बराबरको धनमालको क्षति भएको प्रहरीले जनाएको छ । बाढीपहिरोका कारण यस प्रदेशमा भएको धनजनको क्षतिको प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीले निरीक्षण गरेको छ । अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशका सबै राजमार्ग अवरुद्ध भएका थिए । केही सडक खुलेका छन् भने केही अवरुद्ध नै छन् । केही जिल्लामा विद्युत र सञ्चार सेवा सुरु भए पनि केही जिल्लामा अवरुद्ध नै छ ।

प्रतिक्रिया दिनुहोस्