दीर्घकालीन योजना बनाउने आश्वासन, राहत र उद्धारमा कमी हुन नदिने प्रतिवद्धता



धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको पूर्वीक्षेत्रका बाढी,पहिरो,डुबान प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । अर्थमन्त्री जनार्दन शर्मा र पर्यटनमन्त्री प्रेमबहादुर आलेसहित प्रधानमन्त्री देउवाले शुक्रबार टीकापुर, भजनी नगरपालिका र जानकी गाउँपालिकाका बाढी प्रभावित क्षेत्रहरुको अवलोकन गरेका हुन् ।
प्रधानमन्त्री देउवाले हेलिकोप्टर मार्फत बाढी प्रभावित क्षेत्र टीकापुर नगरपालिका ८ को सत्ती पुगेका थिए । देउवाले टीकापुर नगरपालिका वडा नं. ८ बनगाउँमा बाढी प्रभावितसँग भेट गर्दै सरकारले प्रभावितका लागि राहतको कार्यक्रम ल्याइसकेको बताए । प्रधानमन्त्री देउवाले बाढीबाट लामो समयदेखि प्रभावित हुँदै आएको टीकापुर क्षेत्रको बाढी समस्या समाधानका लागि दीर्घकालीन कार्यक्रमहरु ल्याइने बताए ।
‘यो विपद् हो, लामो समयदेखि तपाईँहरु बाढीबाट प्रभावित हुनुहुन्छ, प्रधानमन्त्री देउवाले भने, ‘सरकारले राहतका कार्यक्रम घोषणा गरिसकेको छ, अब यसको समाधानका लागि दीर्घकालीन कार्यक्रम ल्याउनेछौं ।’ प्रधानमन्त्री देउवाले बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै वास्तविकता बुझ्न अर्थमन्त्रीसहित आफूहरु पीडितसँग भेटघाट गर्न आएको बताए । ‘अर्थमन्त्रीज्यू समेत यतै हुनुहुन्छ, हामी तपाईँहरुको साथमै छौं, सरकारले यहाँबाट फर्केपछि दीर्घकालीन कार्यक्रम ल्याउनेछ,’ प्रधानमन्त्री देउवाले भने ।
बेमौसमी वर्षाका कारण सबैभन्दा बढी प्रभावित सुदूरपश्चिम पुगेर देउवाले योजनाबद्ध रूपमा प्रभावितका लागि राहतका कार्यक्रम र योजना ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले प्राकृतिक प्रकोपबाट प्रभावितका लागि राहत र उद्धारमा सरकारले कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री देउवाले सुर्खेत, दिपायल, बझाङ, बैतडी, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा बाढी, डुबान र पहिरोले पारेको प्रभावको निरीक्षण गरेका छन् । उनले महाकाली तटीय क्षेत्र तथा ब्रह्मदेवदेखि कुतियाकभरसम्म हेलिकप्टरबाटै निरीक्षणसमेत गरेका थिए ।
प्रधानमन्त्री देउवालाई नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलले बाढीले गरेको क्षतिबारे ब्रिफिंग गरेका थिए । स्थानीय मानबहादुर चौधरीले वि.सं. २०४० सालपछिकै ठूलो बाढीले आफूहरुको धानबाली सबै क्षति भएको बताए । कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र्र रावलले बाढी प्रभावितका लागि प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका थिए ।
यस्तै, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलहरुले समेत बाढी प्रभावित क्षेत्रमा तत्काल राहतका कार्यक्रम ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । बाढी प्रभावित क्षेत्रका बासिन्दासँग भेटेर विपद्को वास्तविकता बुझ्न प्रधानमन्त्री देउवा बिहीबारदेखि सुदूरपश्चिम क्षेत्रको भ्रमणमा छन् ।
यता, बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सवार रहेको हेलिकोप्टर मौसम खराब भएका कारण फेरि कञ्चनपुरतर्फ गएको छ । धनगढी विमानस्थलका अनुसार, शुक्रबार प्रधानमन्त्री देउवासहितको टोली कैलालीको पश्चिम–पूर्वी भेगमा रहेका भजनी, टिकापुर र बर्दियाको राजापुर निरीक्षण गरेर नेपालगन्जमा खाना खाई काठमाडौं आउने तालिका थियो ।
तर, मौसम खराब भएपछि हेलिकोप्टर प्रधानमन्त्री देउवा, अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेमबहादुर आलेसहित अन्य नेताहरू लिई कञ्चनपुरको भुजेला क्षेत्रतर्फ उडेको छ । शुक्रबार बिहान धनगढीको सैनिक ब्यारेकमा राखिएको भीभीआईपी हेलिकोप्टर चढेर प्रधानमन्त्री देउवासहितको टोली कैलालीको श्रीलंका टापु पुगेको थियो ।
त्यसपछि भजनी, टीकापुर हुँदै बर्दियाको राजापुर क्षेत्र निरीक्षणको कार्यक्रम थियो । तर ती क्षेत्रको मौसम खराब भएका कारण हेलिकप्टर श्रीलंका टापुबाट धनगढी विमानस्थल फर्केको थियो । त्यहाँबाट कञ्चनपुरको भुजेलातर्फ लागेको हो ।

प्रतिक्रिया दिनुहोस्