लुगा धुने नुहाउने त परैको कुरा पिउने पानीसम्म छैन् कुश्मा बजारमा !



पर्वत : सदरमुकाम कुश्मा बजारमा विगत एक हप्तादेखि खानेपानीको चरम अभाव भएको छ । केही दिन वर्षा रोकिएसँगै ह्वात्तै बढेको गर्मीका कारण पानीका स्रोत सुख्दै गएपछि पानीको अभाव हुनु र पानीका मुहान रहेका ठाउँमा रोपाइँ शुरु हुँदा बजारमा पानीको अभाव भएको हो । लुगा धुने नुहाउने त परैको कुरा पिउने पानीको अभाव भएपछि बजारवासी पानीको खोजीमा भौतारिन थालेका छन् ।

बजारवासी बिहान सबैरै छिमेकीका घर-घरमा पानीको खोजीमा धाउन बाध्य भएका छन् भने बजार नजिकै रहेका इनार, खोल्सा र खोलामा जान बाध्य भएका छन् । कुश्मा नगरपालिका–५ बडागाउँको मेलमिलाप चोकमा बस्दै आउनुभएका शिक्षक दुर्गा भुसालले पानीको अभावकै कारण पोशाक धुन नपाउँदा विद्यालय जान नै समस्या भएको बताउनुभयो । अर्का स्थानीयवासी शालिग्राम पौडेलका अनुसार धारामा नियमित पानी नआउँदा खानेपानीको सङ्कट परेको बताउनुभयो । उहाँले दैनिकजसो जार र बोत्तलको पानी किनेर खानुपरेको गुनासो गर्नुभयो ।

दिनको एकपटकसम्म पनि धारामा पानी नआउँदा सदरमुकामबाट झण्डै आधा घण्टा टाढा रहेको दोबिल्लाबाट सवारीमा पानी ओसार्नुपरेको होटल व्यवसायीको गुनासो छ । पानीको अभावकै कारण भाँडा सफा गर्न नपाउँदा होटल नै बन्द गर्नुपर्ने स्थिति आएको होटल सञ्चालक सुशीला कुँवरले बताउनुभयो ।

बिहान र बेलुकाको दैनिकी भनेकै पानीको भिक्षा माग्दै हिँड्नुजस्तै भएको भन्दै स्थानीयवासीले कुश्मामा पानी वितरण गर्दै आएको कुश्मा खानेपानी कार्यालयप्रति आक्रोश पोखेका छन् । 

कुश्मा खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाका उपाध्यक्ष रमाकान्त शर्माले अत्यधिक गर्मी हुँदा पानीका मुहान सुक्नु, पानीको मुख्य मुहान रहेको ठाउँ कुश्मा नगरपालिका–२ खुर्कोटमा धान रोपाइँ शुरु हुनु र बजारका कतिपय ठाउँमा पानीको लिकेज रहेका कारण पानी अभाव भएको जानकारी दिनुभयो । 

कुश्मा बजारमा एक दिनमा झन्डै २५ लाख लिटर पानीको खपत हुने गरेकामा अहिले बढीमा १५ लाख लिटर मात्र आपूर्ति भइरहेको छ । आपूर्ति भएकोमध्ये पनि झन्डै ३० प्रतिशत पानी पाइप फुट्नुलगायतका कारण बीचमै लिक हुने गरेको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्