बम विष्फोटमा दिदी र भाइ घाइते



सुर्खेत । सुर्खेतमा बेवारिसे बम विष्फोट भएको हुँदा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगरको वडा नं ७ मा रहेको कटकुवा सामुदायिक वनमा शनिबार बम विष्फोट भएको हो ।
घाँस काट्न गएका बेला दैलेखको गुराँस गाउँपालिका–६ का लिला नेपाली र नरेश नेपाली घाइते भएका हुन । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एसपी माधवप्रसाद श्रेष्ठका अनुसार घाइते हुने लिला दिदी हुन् भने नरेश उनका भाइ हुन् । उनीहरुको अहिले वीरेन्द्रनगरमा रहेको देउती अस्पतालमा उपचार भइरहेको छ ।
प्रदेश प्रहरी कार्यालयले सशस्त्र द्वन्द्वका बेलामा तत्कालीन माओवादीले छाडेको बम अहिले विष्फोट भएको आशंका गरेको छ । प्रहरीका अनुसार घाइते दुबै जनाको अवस्था अहिले सामान्य छ । दैलेख घर भए पनि हाल वीरेन्द्रनगर–७ इत्राममा बस्दै आएका उनीहरु शनिबार बिहान घाँस लिन बनमा गएका थिए । त्यही क्रममा बेवारिसे अवस्थामा रहेको बमलाई उनीहरुको खुट्टाले छुँदा विष्फोट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्