डडेल्धुरामा ६ हजार नयाँ मतदाता थपिए



डडेल्धुरा । फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत डडेल्धुरामा ९४ हजार तीन सय १४ को नाम दर्ता भएको छ । शुक्रबार जिल्ला सदरमुकाममा छैटौँ निर्वाचन दिवसको अवसरमा भएको कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयले यो तथ्यांक सार्वजनिक गरेको हो ।
२०७८ असारसम्मको मतदाता संख्या जिल्लामा ८८ हजार ४५ थियो । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन कार्य सुरु गरेपछि नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए ।
पछिल्लो तथ्यांक हेर्दा जिल्लामा आगामी स्थानीय तहको निर्वाचनमा ६ हजार दुई सय ६९ मतदाता संख्या थपिएको हो । अमरगढी नगरपालिकामा १४ हजार आठ सय दुई र परशुराम नगरपालिकामा २२ हजार तीन सय २७ जना मतदाता रहेको निर्वाचन अधिकारी अवस्थीले बताए ।
उनका अनुसार अजयमेरू गाउँपालिकामा १२ हजार दुई सय ६३, आलिताल गाउँपालिकामा ११ हजार दुई सय ७६, गन्यापधुरा गाउँपालिकामा १० हजार नौ सय ५८, नवदुर्गा गाउँपालिकामा १३ हजार ६ सय ८० र भागेश्वर गाउँपालिकामा नौ हजार आठ जना मतदाता छन् ।
प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र छन् । जसका लागि मतदानस्थल ८० र मतदान केन्द्र एक सय १० रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जिल्लाको कुल जनसंख्या एक लाख ३९ हजार चार सय २० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्