निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गर्न सुझाव



काठमाडौं । विशेषज्ञ सहितको टोलीले आगामी निर्वाचनमा मतपत्र र मतपेटिकासमेत जोडिएको विद्युतीय मतदान यन्त्र प्रयोग गर्नुपर्ने सुझाव दिएको छ । निर्वाचन आयोगले गठन गरेको ८ सदस्यीय टोलीले विद्युतीय मतदान यन्त्रमै मतदान गरेको चिन्हसमेत प्रिन्ट हुने मेसिन प्रयोग गर्नुपर्ने सिफारिस गरेको हो ।
अध्ययन समितिले भोटर भेरिफायल पेपर अडिट ट्रायल(भीभीपीएटी)सहितको विद्युतीय मतदान यन्त्र प्रयोगमा जोड दिएको हो ।
भीभीपीएटी सहितको विद्युतीय मतदान यन्त्रको प्रयोगले मतदाताका साथै निर्वाचनमा प्रतिस्पर्धा गर्ने दलहरू समेत सुनिश्चित हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ । मतदाताले मतदान गरेपछि उसले देख्ने गरी कागजमा त्यही दलको चिन्ह प्रिन्ट हुन्छ र मतपेटिकामा सुरक्षित रहन्छ । प्रतिवेदनमा भनिएको छ, ‘मतगणनाका क्रममा मेसिनले गणना गरेको मतपरिणाम उपर कुनै पक्षलाई चित्त नबुझेमा भीभीपीएटीले प्रिन्ट गरेको कागजी मतपत्रहरूलाई गणना गरी मेसिनको विश्वसनियता सुनिश्चित गर्न सकिन्छ ।’
अध्ययन टोलीले विद्युतीय मतदान यन्त्रको प्रयोगबाट भएको निर्वाचनमा धाँधली वा चलखेलको प्रश्न उठेमा भीभीपीएटी प्रविधियुक्त मेसिनको मतपेटिकामा सुरक्षित रहेको दलको निर्वाचन चिन्हअंकित मत गन्न सकिने औँल्याएको छ । विवाद अदालतसम्म पुगेमा समेत यसैगरी मत गन्न सकिने प्रतिवेदनमा उल्लेख छ । भारतमा अहिले यही प्रविधिको उपकरण प्रयोग भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्