निगमको धनगढी–बझाङ उडान सुरु गर्दै



बझाङ । सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ यात्रुको चाप बढेपछि नेपाल बायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आइतबार धनगडी–बझाङ परीक्षण उडान गर्ने भएको छ ।
धनगढीलाई बेस बनाएर जिल्लामा हवाई सेवा सञ्चालन गर्नका लागि आइतवार परीक्षण उडान हुने भएको हो । लगातारको वर्षाका कारण सुदूरपश्चिमका पहाडी राजमार्ग अवरुद्ध भएपछि हवाइ यात्रा एकमात्र विकल्पका रूपमा रहेको छ ।
धनगढीबाट पहाडी जिल्लामा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उडानका लागि तालिका सार्वजनिक भइसकेको धनगढी विमानस्थलले जनाएको छ । धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले आइतबार पहिलो दिन धनगढीबाट डोटीको दिपायल र दोस्रो उडान बझाङमा हुने बताए ।
धनगढीदेखि डोटी दुई हजार ६ सय १५ र डोटीबाट धनगढी दुई हजार पाँच सय १५ भाडादर कायम भएको छ । धनगढीदेखि बझाङको तीन हजार नौ सय ९५ र बझाङदेखि धनगढी तीन हजार आठ सय ९५ हवाई भाडादर कायम भएको छ । जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार आइतबार बिहान ९ बजेर १५ मिनेटमा नेपाल वायुसेवा निगमले धनगढी–बझाङ उडान गर्नेछ । हवाई भाडा सस्तो भएको हुँदा नियमित उडान गर्नुपर्ने बझाङबासीको माग छ । एउटा एयरलाइन्सले मात्र उडान गर्दा यात्रुहरूलाई झन् समस्या भइरहेको धनगढी विमानस्थलले जनाएको छ ।
असोज ३१ गते आइतवारदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध भएपछि दशैँ मनाउन घर आएका काठमाडौं, पोखरा, धनगडी, नेपालगञ्जलगायत बाहिर जिल्लामा पढ्ने विद्यार्थी तथा कर्मचारीहरू आफ्नो कर्मथलो फर्कन सकेका छैनन् ।
धनगढीबाट आउने मालबाहक गाडी, बस र कतिपय यात्रुहरूसमेत बीच बाटोमै अलपत्र परेका नागरिक समाजका अगुवा धर्मजंङबहादुर सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्