साउथह्याम्पटनको पोस्टमा म्यानचेस्टर सिटीको आधा दर्जन गोल



काठमाडौं : डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा आक्रमक प्रदर्शनलाई बढाउँदै लगेको छ । गएराति भएको खेलमा उसले साउथह्याम्पटनलाई ६–१ गोलको फराकिलो अन्तरले हराउँदा प्रमुख स्ट्राइकर सर्जियो एग्युएरोले पनि प्रिमियर लिगमा व्यक्तिगत गोल संख्या १५० पुर्‍याए । 

लिगको ११ औँ चरणको खेल सकिँदा सिटीले अंक तालिकामा पनि आफूलाई निरन्तर अगाडि उभ्याइरहेको छ । सिटीले यो सिजन लिगका एकै खेल गुमाएको छैन । 

रबाफिलो जित दिलाउने क्रममा खेलको छैटौँ मिनेटमै लेरोइ सानेले हानेको बल साउथह्याम्पटनका होएड्टको खुट्टामा ठोक्किँदै जालीको दिशामा गएपछि पहिलो गोल भयो । त्यसपछि खेलको १२ औँ मिनेटमा एग्युएरोले टोलीका लागि दोस्रो गोल थप्दै प्रिमियर लिगमा आफ्नो व्यक्तिगत गोलसंख्या पनि १५० पुर्‍याउन सफल भए । 

खेलको १८ औँ मिनेटमा डेभिड सिल्भाले गोल गरेपछि सिटीले पहिलो हाफको आधा भन्दा कम समयमै ३–० को अग्रता बनायो । 

तर खेलको २९ औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै साउथह्याम्पटनका इङ्सले गोल गर्दै खेललाई ३–१ मा झारे । त्यसपछि खेलको पहिलो हाफको अतिरिक्त समयमा राहिम स्टर्लिङले गोल गरे । पहिलो हाफमा सिटीले ४–१ को अग्रता बनायो । 

दोस्रो हाफमा पनि सिटी रोकिएन । उसका लागि खेलको ६७ औँ मिनेटमा स्र्टलिङले नै गोल गरेर अग्रता अझै बढाए । पहिलो गोलका लागि बल प्रहार गरेका सानेले खेलको अन्तिम समयमा गोल गरेपछि सिटीले ६–१ को जित निकाल्यो । यो पटक उनले रहिम स्टर्लिङको पासमा गोल गरेका थिए । 

यो जितपछि सिटी ११ खेलबाट २९ अंकसहित लिगको शीर्ष स्थानमा कायमै छ । त्यसपछि ११ खेलबाटै २७ अंकसहित चेल्सी दोस्रो र गोलअन्तरका आधारमा पछि पर्दै लिभरपुल पनि २७ अंकसहित तेस्रो स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस्