केन्द्रमा गठबन्धन टुटे पनि प्रदेशमा टुट्दैन : सामाजिक विकास मन्त्री राई



खोटाङ । प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले केन्द्रमा वर्तमान सत्ता गठबन्धन टुटे पनि प्रदेशमा नटुट्ने बताएका छन्। प्रेस सेन्टर नेपाल खोटाङले शुक्रबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राईले एमसीसीकै कारण राजनैतिक दुर्घटना भएपनि प्रदेशको गठबन्धन कायम रहने दाबी गरे।

प्रदेशका मूख्यामन्त्रीले बिश्वासको मत लिएको एक वर्षसम्म अविश्वासको प्रस्ताव गर्न नमिल्ने संवैधानिक व्यवस्थाका कारण वर्तमान प्रदेश सरकार फेरबदल नहुने मन्त्री राईको भनाई थियो। ‘संविधानमा प्रदेशको मूख्यामन्त्रीले बिश्वासको मत लिएपछि एक वर्षसम्म अविश्वासको मत दर्ता गर्न पाइन्दैन भन्ने व्यवस्था छ। त्यसलाई हामी सुरक्षित गर्छौँ,’ सामाजिक विकास मन्त्री राईले भने, ‘राजनैतिक दुर्घटना भयो भने र माथि सत्ता समिकरण फेरबदल भएपनि प्रदेशमा फेरबदल हुने छैन।’

मन्त्री राईले यथावस्थामा एमसीसीलाई पास गर्न नहुने धारणा दोहो¥याएका छन्। मन्त्री र सांसद पद छोड्न सकिने तर देशको सार्वभौमसत्तालाई छोड्न नसकिने मन्त्री राईले बताए। ‘यो मन्त्री, यो सांसद पद तपसिलका विषय हुन्। यो जुनसुकै बेला छोड्न सकिन्छ। तर नेपाली जनतामा भएको सार्वभौमसत्ता कुनैपनि हालतमा छोड्न सकिँदैन,’ मन्त्री राईले भने, ‘देशको सार्वभौमसत्ता बच्यो भने मात्र हामी सुरक्षित रहन सक्छौं भन्नेमा हामीलाई कुनै दुविधा छैन।’

मन्त्री राईले गठबन्धन जोगाउन अधिकतम प्रयास गर्ने तर राष्ट्रिय स्वाधिनताको विषयमा किञ्चित दायाँ–वायाँ नगर्ने उल्लेख गरे। ‘हिजोको दिनमा गठबन्धनका दलहरु संविधानको सुरक्षा गर्नका लागि, यथास्थिति विरुद्ध, प्रतिगमनको बिरुद्ध लागेका थियौं। अहिले पनि त्यसमा केही फरक भएको छैन,’ उनले भने, ‘हामी गठबन्धनलाई जोगाउन चाहन्छौं तर जोगिएन भने पनि राष्ट्रिय स्वाधिनताका लागि, देशको सुरक्षाका लागि, नेपाली जनताको उन्नयनका लागि किञ्चित दायाँवायाँ गर्दैनौं। हिजो प्रतिगमनका विरुद्ध लाग्दा हाम्रो माग संविधानको सुरक्षा हुनुपर्छ भन्ने थियो। अहिले पनि संविधानको सुरक्षा हाम्रो दायित्व हो।’

प्रतिक्रिया दिनुहोस्