प्रधानमन्त्री रोजगार कार्यक्रम कुरी कुरी : कांग्रेस सांसद विश्वकर्मा



काठमाडौं : नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले औद्योगिक वातावरण निर्माण भन्दा कार्यकर्ता पोस्ने गरी बजेट विनियोजन भएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गर्न गर्न प्रस्ताव पेस गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकअन्तर्गतको छलफलमा सहभागी हुँदै उनले  आपूर्ति मन्त्रालयको खर्च घटाई १ रुपैयाँ कायम गर्न प्रस्ताव गरे । चालु आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सरकारले एक महिनामा मकै गोड्ने, झार उखेल्ने र गाई समाउने कामका लागि २ अर्ब ३७ करोड रुपैयाँ खर्च गरेको भन्दै उहाँले बजेटको दुरुपयोग रोक्न माग गरे ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सहयोग गर्ने ठुला मन्त्रालयहरू मध्येको एक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि रहेको भन्दै  औचित्यहीन खर्च घटाउनुपर्ने बताए ।उनले भने  ’कामदारलाई हेलमेट दिएछ । ज्याकेट लगाइदिएछ । बुट लगाइदिएछ यो गर्मीमा पनि ।

हातमा काम गर्ने औजारचाहिँ बेल्चा दिएछ ।  काम के लगाएछ भन्दा मकै गोड्न । यो हेरिसकेपछि प्रतिपक्षीलाई मात्रै कुरी कुरी लागेन होला ।’प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उपलब्धिमूलक नभई पर्व र उत्साहको रूपमा मनाइएको उनको आरोप छ  ।

औद्योगिक लगानीको वातावरणको सिर्जना नभएको, खर्च बाँड्ने र रमाउने काम भएको, पर्यटनको नाममा नेता र कार्यकर्ता पिकनिक जाने काम भएको भन्दै उहाँले खर्च कटौती गर्न माग गरे । 

प्रतिक्रिया दिनुहोस्