इंग्लिस प्रिमियर लिग : म्यान्चेस्टर सिटीको सहज जित



एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले ब्राइटनलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा फिल फोडेनले दुई गोल गरे । इल्के गुन्डोगान र रियाद महरेजले एक एक गोल गरे ।

ब्राइटनका एलेक्सिस माकले एक गोल फर्काए । खेलको १३ औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । २८ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई २–० को अग्रता दिलाए । खेलको ३१ औं मिनेटमा फोडेनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३–० को अग्रता दिलाए । खेलको ८१ औं मिनेटमा ब्राइटनका माकले पेनाल्टीबाट एक गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा महरेजले गोल गर्दै सिटीलाई ४–१ को जित दिलाए । यस जितसँगै सिटीले ९ खेलमा २० अंक जोडेको छ । सिटी लिगको दोस्रो स्थानमा रहेको छ । ब्राइटन १५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्