‘प्रजातन्त्र प्राप्तिको गर्भाधान १९८७ सालमै’



  •  जुम्लामा २००८ सालमा मात्र प्रजातन्त्र आयो ।
  • एउटा जुत्ता प्रजातन्त्रका नाममा ।
  •  ज्ञानेन्द्र राजा भएपछि उनकै नामबाट टकमरी छापियो ।
  • त्रिभुवन हिन्दुस्तान गएपछि उतैको सुरक्षामा बसे ।

भैरव रिसाल। २००७ साल नेपालको परिवर्तनका लागि कोशेढुंगा हो । मेरो राजनीतिक र सार्वजनिक अभियान १८ मंसिर २००७ देखि सुरु भएको हो ।

तत्कालीन राजा त्रिभुवन सपरिवार काठमाडौंस्थित भारतीय दूतावास (तत्कालीन हिन्दु दूतावास) जाँदासम्म मलाई राजनीतिक चेत थिएन । म भक्तपुरको काँठे मान्छे, काठमाडौंको तीनधारा पाठशालामा पढ्न थालेको थिएँ ।

त्यहाँबाट निकालिएँ भने मेरो सर्वस्व सकिन्थ्यो । मेरो पढाइ पनि सकिन्थ्यो । त्यसैले त्यसबेलासम्म म निकै डराउँथेँ, साह्रै कायर थिएँ ।

त्यसबेलाको परिस्थिति बुझ्न बाहिर निस्कने इच्छाचाहिँ थियो तर निस्कने आँट थिएन । २१ कात्तिक २००७ मा राजा त्रिभुवन माहिलो नाति (ज्ञानेन्खद्र)बाहेक परिवार लिएर शिकारमा जान्छु भनेर बिहान ९ बजेर ५५ मिनेटमा भारतीय दूतावास गए । उनी गएपछि हल्लाखल्ला भयो । त्रिभुवन सपरिवार भारतीय दूतावास जाँदै छन् भन्ने कुरा त्यसबेलाका राणाका गुप्तचरलाई पनि थाहा रहेनछ ।

राजा दूतावासमा गएको थाहा पाएपछि राणाले अर्जुनशम्शेर र विजयशम्शेरलाई ‘किन गएको ?’ भन्दै लिन पठाए । दूतावासमा दिनभर बस्दा पनि राजा खलकले उनीहरूलाई भेटै दिएनन् ।

फेरि बेलुका राजालाई लिन पठाए तर लिन गएकाहरूले भेटेनन् । नभेटेपछि राणाले २२ कात्तिक २००७ मा २५६ जनाको भारदारी सभा बसाए ।

‘राजा छैनन्, अब कसरी राजगद्दी खाली नराख्ने ?’ भनेर सभामा छलफल भयो । त्रिभुवनका माहिला नाति (ज्ञानेन्द्र) दूतावास गएका छैनन् भन्ने बुझेपछि सभाले ज्ञानेन्द्रलाई राजा घोषणा गर्‍यो ।

२२ गते त्रिभुवन सपरिवार हिन्दुस्तान (भारत) गए । हिन्दुस्तानले विशेष प्लेन पठाएको थियो । त्यसबेला अहिले जस्तो नियमित जहाज आउँदैनथ्यो, एयरपोर्ट पनि व्यवस्थित थिएन ।

राजा दिल्ली जाँदै छन् भन्ने कुरा भारतीय रेडियो (अल इन्डिया रेडियो)ले खबर गर्‍यो। रेडियोबाट खबर सुनेपछि हजारौ मान्छे एयरपोर्ट गए । राजाको पक्षमा, राणाको विरुद्धमा नारा लगाए ।

त्यसबेलाको अंग्रेज शासक साह्रै चलाख । राजा उता (भारत) गएपछि १८ मंसिर २००७ मा तत्कालीन भारतका ब्रिटिस हाई कमिशनर र बेलायतबाट आएका विशेषज्ञ नेपालको अवस्था बुझ्न विशेष प्लेनमा गौचर अड्डा आए ।

उनीहरू आउँछन् भन्ने बुझेपछि झन्डै २० हजार मान्छे एयरपोर्ट पुगेका थिए । यसभन्दा अघि मैले यति धेरै मान्छे भेला भएको देखेको थिइनँ । खै के मेलोमेसो मिलेर हो, म पनि गौचर पुगेको थिएँ ।

भीड यति धेरै थियो कि विमानबाट उत्रिएका ती २ जना मान्छे उनीहरूका लागि व्यवस्था गरिएको मोटर (गाडी) चढ्ने ठाउँसम्म पु¥याउन प्रहरीले भीडलाई हस्तक्षेप गर्नुगर्‍यो। पुलिसले लाठी चार्ज गर्‍यो, हामी भाग्यौँ ।

त्यसबेला अरनिको राजमार्ग बनेको थिएन, पुरानो बानेश्वरको बाटो हुँदै फर्कनुपथ्र्यो । बाग्मती पुलमा पुलिस बसेका थिए, बाटो हिँड्नेको भीड देखेपछि पुलिसले लाठी चार्ज गर्‍यो। त्यसपछि भाग्दै फाल हानेर बाग्मती तर्नुप¥यो ।

मंसिरको बाग्मती सानो थियो । तर, दौडँदा खोलाको बालुवामा मेरो एउटा जुत्ता गाडिएछ । अघि बढ्न खोज्दा एउटा खुट्टामा जुत्ता छ, अर्कोमा छैन । खोज्न जाने परिस्थिति नभएपछि अर्को जुत्ता पनि त्यहीँ फालेर खाली खुट्टा तीनधारा पाठशाला पुगेँ ।

१८ मंसिर २००७ को यही दिनदेखि मेरो सार्वजनिक र राजनीतिक अभियान सुरु भएको हो ।

ज्ञानेन्द्र राजा भएपछि उनकै नामबाट टकमरी हुन (पैसा छापिन) थाल्यो । त्यसबेला १०० पैसाको १ रुपैयाँ, ५० पैसाको आधा रुपैयाँ, चौअन्नी, तीनअन्नी, पचन्नीलगायतका चाँदीका पैसा छापिन्थ्यो ।

हिन्दुस्तानमा रहेका त्रिभुवनसँग कुरा गर्न राणाहरूले आफ्ना मान्छे पठाए । अवस्था ‘नेगोसिएसन’को चरणमा पुग्यो, किनभने राणाहरूले राजालाई त मान्नुपथ्र्यो । राजा फर्काउन एकातिर कुराकानी भइरहेको थियो, अर्कोतर्फ वीरगंज, विराटनगरलगायतका ठाउँमा सशस्त्र आन्दोलन भइरहेको थियो ।

२००४ सालमा संस्कृत पढ्ने विद्यार्थीहरूले जयतु संस्कृतम्को आन्दोलन सुरु गरेका थिए । आफूहरूले भूगोल र इतिहास पढ्न पाउनुपर्छ भन्ने विद्यार्थीहरूको माग थियो ।

त्यो किन रहेछ भन्दा त्रिचन्द्र कलेजमा एमए गरेका मान्छेले ५००–६०० रुपैयाँ तलब खाँदा रहेछन् भने संस्कृतमा आचार्य गरेकाहरूले २००–२५० रुपैयाँ खाँदा रहेछन् । संस्कृतका पण्डितहरू असन्तुष्ट थिए तर आन्दोलन गर्न नसक्ने ।

यस्तो भएपछि त्यसबेलाका श्रीभद्र शर्मा, कमलराज रेग्मी, राजेश्वर देवकोटा, काशीनाथ गौतमलगायतले ‘हामीले पनि भूगोल र इतिहास पढ्न पाउनुपर्छ’ भनेर १ असार २००४ देखि आन्दोलन थालेका थिए । त्यस आन्दोलनमा म आफूचाहिँ रमिते थिएँ ।

विद्यार्थीहरूको जुलुस सडकमा हुन्थ्यो, मचाहिँ सडकको पेटीबाट हिँड्थेँ । आन्दोलन हेर्न पनि मन लाग्ने जुलुसमा जान पनि डर लाग्ने ।

२००७ सालको आन्दोलनका क्रममा कांग्रेस, राणा र राजाबीच कुराकानी भएको कुरा आएको थियो । तर, कुराकानीमा कोको थिए भन्ने प्रस्ट थिएन । पछिबाट बुझ्दा त्यसबेला कांग्रेसको नेतृत्व पनि हिन्दुस्तानले गर्दो रहेछ क्यार ! राजा त्रिभुवन हिन्दुस्तान गएपछि उतैको सुरक्षामा बसे ।

तत्कालीन भारत सरकारले जसजसलाई भेट्ने भन्थ्यो, उनले त्यहीअनुसार भेटघाट गरे । यसो हुँदा त्रिभुवन स्वतन्त्र भएनन् । तर, त्रिभुवन यता फर्किने कुरा मिल्दै जाँदा उनी भारत बस्दाको खर्चबापत त्यसबेलाको राणा सरकारले ३ लाख भारु पठायो ।

४ फागुन २००७ मा राजा त्रिभुवन फर्किए । ज्ञानेन्द्रको नामबाट निस्किने टकमरी बन्द भयो, त्रिभुवनकै नाममा छापिन थाल्यो ।

७ फागुन २००७ मा प्रजातन्त्र घोषणा भयो । त्यसबेला म २२ वर्षको थिएँ । तर, घोषणाका विषयवस्तु हामीलाई धेरै थाहै भएन । घोषणामा ‘अब जनताका प्रतिनिधिले बनाएको विधानअनुसार शासन व्यवस्था चलाउने’ भन्ने थियो तर यो के भनेको भन्ने बुझिँदैनथ्यो । त्रिभुवनको घोषणा म धेरै बुझ्दिनँथेँ । तर, नयाँ कुरा भएकाले धेरैलाई उत्साह थियो, चासो थियो ।

जुम्लामा २००८ सालमा मात्र आयो प्रजातन्त्र !

प्रजातन्त्र घोषणा हुँदा गोरखापत्र थियो, रेडियो भर्खरै सुरु भएको थियो । पत्रिका सबैले पढ्न पाउँदैनथे, रेडियो सबैतिर सुनिँदैनथ्यो । काठमाडौंका टाठाबाठा मान्छेहरू प्रजातन्त्रबारे चासो पनि राख्थे ।

तर, प्रजातन्त्रबारेको खबर धेरै नेपालीलाई थाहा थिएन । यस्तो भयो रे, उस्तो भयो रे भनेर हल्लाका भरमा खबर थाहा हुन्थ्यो ।

प्रजातन्त्र आएको खबर धेरै नेपालीले धेरै पछि मात्र थाहा पाए । खासगरी कर्णाली, हुम्लालगायतका ठाउँमा २००८ सालमा मात्र प्रजातन्त्रबारेको खबर पुगेको थियो ।

त्यसबेला कर्णालीमा जुम्ला र हुम्ला २ वटा मात्र जिल्ला थिए । त्यसैले तत्कालीन जुम्लामा २००८ सालमा मात्र प्रजातन्त्र आयो ।

नेपालमा प्रजातन्त्र प्राप्तिको गर्भाधानचाहिँ १९८७ सालमा भएको हो । राणा शासन बेठीक भन्ने कुरा बुझेर खड्गमान बस्नेत, खण्डमान, मैनाबहादुरलगायतका युवकहरूले सङ्गठन बनाएछन् ।

गोप्य रूपमा सङ्गठन बनाउँदै गर्दा गुप्तचर संस्थाले उनीहरूलाई समातेर जेलमा थुन्यो । त्यसपछि १९९१ सालमा टंकप्रसाद आचार्य, धर्मभक्त माथेमा, दशरथ चन्दलगायतले परिवर्तनका लागि मिटिङ गरे ।

टंकप्रसाद आचार्य प्रजापरिषद्को अध्यक्ष भए, परिषद्ले १९९७ सालमा राणाविरोधी पर्चा निकाल्यो । पर्चा टाँस्दै गर्दा बलियो गुप्तचर संस्थाले उनीहरूलाई नियन्त्रणमा लियो, कारबाही भयो ।

राणाले धर्मभक्तलगायत ४ जनालाई फाँसी दिए । शुक्रराज प्रजा परिषद्को सदस्य पनि थिएनन् तर किन हो, उनलाई पनि फाँसी दिइयो । खड्गमानहरूलाई चाहिँ सर्वस्वहरण भयो तर ज्यान सजाय भएन ।
प्रजातन्त्र आउँदा म २० वर्षमाथिको भए पनि राजनीतिक चेतना नभएकाले त्यसबेला मैले धेरै कुरा थाहा नभएको महसुस गरेको छु ।

पुष्पलाल श्रेष्ठ मभन्दा धेरै जेठो होइन तर उहाँ १९९७ सालमै शहीद हुनुभयो । तर, मैले राजनीतिक जुलुस देख्न २००७ सालसम्म पर्खनुपर्‍यो।

मेरो राजनीतिक ‘एक्सपोजर’ थिएन । भक्तपुरको तिथली गुण्डुमा जन्मिएको, दधिकोटमा बसेको र तीनधारा पाठशालामा पढेको भए पनि म राजनीतिक विषय बुझ्दिनथेँ । त्यसैले परिवर्तनका लागि ‘एक्सपोजर’ सबैभन्दा ठूलो विषय रहेछ ।

(द नेपालटपकर्मी टीका बन्धनले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्