विश्वकप छनोट : फिलिपिन्सविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल



काठमाडाैं । आइसीसी टी-२० विश्वकपको ग्लोबल छनोटमा फिलिपिन्सविरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलका लागि नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ। तीव्र गतिका बलर कमलसिंह ऐरी र अलराउण्डर विवेक यादवलाई यस खेलमा विश्राम दिइएको हो।

उनीहरूका स्थानमा ​अलराउण्डर कुशल मल्ल र तीव्र गतिका बलर गुलसन झालाई समावेश गरिएको छ। टी-२० अन्तर्राष्ट्रियमा गुलसनको यो डेब्यु खेल हो। कुशल मल्ललाई यसै खेलमार्फत नेपालले १४ सदस्यीय टोलीमा स्थान दिएको छ। यसअघि उनी रिजर्भ खेलाडीका रुपमा रहेका थिए। शरद भेस्वाकर घाइते भएपछि कुशलले टोलीमा स्थान बनाएका हुन्।

नेपाली सुरुवाती ११ मा कप्तान सन्दीप लामिछाने, असिफ शेख , ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, जितेन्द्र मुखिया, कुशल मल्ल, गुलशन झा र अभिनास बोहरा रहेका छन्। यसअघि शुक्रबार भएको खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको थियो। फिलिपिन्सविरुद्ध ठूलो जित हात पार्दै रनरेट बलियो बनाउने नेपालको लक्ष्य हुनेछ।

नेपालले फिलिपिन्सलाई पराजित गरेमा र क्यानडाले आयोजक ओमानमाथि जित हात पारेमा नेपाल र क्यानडा एक खेलअगावै सेमिफाइनल पुग्नेछन् । ओमानले क्यानडालाई पराजित गरेमा सेमिफाइनलको टुंगो सोमबार अन्तिम दिनको खेलमा लाग्नेछ । सेमिफाइनल जित्ने टोली यसै वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपमा पुग्नेछन् । 

प्रतिक्रिया दिनुहोस्