विमल घर्तीको मच्छिन्द्र क्लबसँग सम्झौता नवीकरण



काठमाडौं । नेपाली राष्ट्रिय फुटबलर विमल घर्तीमगरले आसन्न शहीद स्मारक ‘ए’ डिभिजन लिग पनि मच्छिन्द्र क्लबबाट खेल्ने भएका छन् ।
गत सिजनमा पनि उनले मच्छिन्द्रबाटै लिग खेलेका थिए । यस सिजनमा पनि सोही क्लबबाट खेल्ने गरी सम्झौता नवीकरण भएको हो ।
क्लबले आइतबार बिमलालाई एक बर्षको लागि सम्झौता गरेको जनाएको छ ।
सम्झौतापत्रमा विमल र मच्छिन्द्र क्लबका उपाध्यक्ष तथा व्यवस्थापक अनिल श्रेष्ठले हस्ताक्षर गरेका छन्।
गत सिजनमा विमलले मच्छिन्द्रबाट अन्तिम खेल मात्रै खेलेका थिए ।
भुटानमा कुवेतसँगको खेलअघि ‘डिस्को काण्ड’ मा मुछिएका विमललाई एन्फाले कारबाही गरेपछि विमलले अन्तिम खेल मात्रै खेल्न पाएका थिए ।
यसअघि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका क्रममा विमलको घुँडामा चोट लागेपछि उपचारका लागि कतारमा गएका थिए ।
गत सिजन अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र पहिलो पटक लिग उपाधि हात पार्न सफल भएको थियो ।
अन्तिम खेलमा आर्मीलाई बराबर काफी थियो भने मछिन्द्रलाई जितको विकल्प थिएन ।
यसपटक क्लबले कप्तान विराज महर्जनलाई बिदाई गर्दै सुजल श्रेष्ठ, विशाल राई, रन्जित धिमाल, देवेन्द्र तामाङ, रेजिन सुब्बा, सुनिल बल, अभिषेक रिजाल, मनिष डांगी, गोलरक्षक विशाल श्रेष्ठसँग सम्झौता गरिसकेको छ ।
मछिन्द्रले यसपटक प्रशिक्षकमा पनि ए लाइसेन्स प्राप्त प्रवेश कटुवालसँग सम्झौता नवीकरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्