गणेशमानको त्यो आक्रोश…



राजा त्रिभुवन र मोहनशम्शेरबीच दिल्लीमा सम्झौता भएपछि ४ फागुन २००७ मा पटना विमानस्थलबाट २ वटा जहाज उडे । पहिलो जहाजबाट बीपी कोइरालासहित हुनेवाला मन्त्रीहरू र उहाँका परिवार आउनुभयो ।

दोस्रो जहाजबाट कांग्रेस सभापति रहनुभएका मेरा पिता मातृकाप्रसाद कोइरालासहित परिवार, नेताहरू कृष्णप्रसाद भट्टराई, सुवर्णशम्शेरसहित नेताहरू काठमाडौं आयौँ । आइपुग्दा झमक्क साँझ परेको थियो ।

राजा त्रिभुवन त्यही दिन दिउँसो इन्डियन एयर फोर्सको जहाजबाट आउनुभएको थियो । काठमाडौँको राजनीतिक माहोल बेग्लै रहेछ । प्रजातन्त्र आयो भनेर जनता खुसी देखिए । बिजुली थिएन । पेट्रोलम्याक्स झलल बालिएको थियो ।

विमानस्थलदेखि राजा सिधै नारायणहिटी राजदरबार गए । हामी त बसिरह्यौँ । एकछिनमा महावीरशम्शेरको गाडी आयो । अनि, थिरबम मल्लको घरमा लाने भनियो । जाँदै गर्दा सडकको ठाउँठाउँमा सुनियो, ‘प्रजातन्त्र अमर रहोस्, इन्क्लाब जिन्दावाद, नेपाली कांग्रेस जिन्दावाद ।’

निरङ्कुश राणा शासनको अन्त्य हुँदा जनता कति खुसी रहेछन् भन्ने देखियो । त्यसकै लागि भएको सशस्त्र क्रान्तिमा थिरबम शहीद भइसक्नुभएको थियो । र, सडकभर जनताको खुसी महसुस गर्दै शहीद मल्लको दरबार पुग्यौँ ।

मल्लका पिताजी गलकोटका राजा । दरबारको दोस्रो तलामा बीपी र उहाँको परिवारलाई राखियो । पिता मातृकाप्रसादसहित हाम्रो परिवार तेस्रो तलामा ।

५ फागुन २००७ मा गणेशमानजी र मेरा पिताजीलाई दरबार अगाडिको सानो चौरमा देखेँ । म झ्यालमा थिएँ । झोँक्किएर गणेशमानजीले मेरा पितासँग भनेको सुनेँ, ‘गु नै खाने भा’ त तात्तातै खा’को भा’हुन्थ्यो नि ! किन यस्तो अबेर खा’को ? कुकुरले पनि तात्तादै मात्रै खान्छ ?’

उहाँलाई राणासँग सम्झौता गरेको मनपरेको रहेनछ । त्यसपछि पिता मातृकाले के भन्नुभयो ? थाहा भएन ।

६ गते पनि काठमाडौंमा उल्लास थियो । ७ गते प्रजातन्त्र स्थापना शाही घोषणामार्फत गर्ने भनिएको थियो । जनता प्रतीक्षामा थिए । ७ गते दिउँसो २ या ३ बजेको थियो होला, मातृकाप्रसाद, बिपीलगायत नेताहरूसहित हामीलाई मल्लको दरबारदेखि नारायणहिटी राजदरबार लगियो ।

दरबारको सिँढीमा मोहनशम्शेर, बीपी कोइराला, मातृकाप्रसाद, गणेशमान, सुवर्णशम्शेर, सूर्यप्रसाद, कृष्णप्रसाद भट्टराईलगायत लस्करै बस्नुभयो । खासै भीड थिएन । त्यसबेला रेडियो पनि थिएन । एउटा माइक थियो ।

त्यही माइकबाट राजा त्रिभुवनले प्रजातन्त्र स्थापना भएको शाही घोषणा गर्नुभयो । घोषणामा जननिर्वाचित संविधानसभाको निर्वाचन गर्ने भनियो ।

घोषणामा भएको योबाहेक अन्य कुरा कांग्रेसले मनपराएनन् । किनभने त्यहाँ भनिएको थियो, ‘हामी विश्वासी प्रधानमन्त्री श्री ३ महाराज, हाम्रा वफादार…।’ यस्तो भाषा त कांग्रेसीले मनपराउने कुरै थिएन ।

फेरि, त्यो शाही घोषणाको मस्यौदा तयार नयाँ दिल्लीमा भएको हो । गोविन्द नारायण पछि मस्यौदा नेपालमा लिएर आएको र मोहनशम्शेरले मस्यौदालाई अनुवाद गरेको मलाई थाहा छ ।

वास्तवमा मातृकाप्रसाद, बीपीलगायत नेताहरूको चाहना त राजालाई पाल्पा लगेर घोषणा गराउने थियो । तर, भारतीय दूतावासमार्फत राजालाई सिधै दिल्ली पठाएर सम्झौता गराएर मस्यौदा तयार गरियो । भारतले क्रान्ति ‘हाइज्याक’ गर्‍यो ।

प्रतिक्रिया दिनुहोस्