इंग्लिस प्रिमियर लिग : लिभरपुलकाे शानदार जित



काठमाडौं : इंग्लिस प्रिमियर लिगमा लिभरपुलले शानदार जित निकालेको छ । लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडलाई लिभरपुलले ५–० गोलअन्तरले पराजित गरेको हो। घरेलु मैदान ओल्ड ट्राफर्डमा म्यानचेस्टर युनाइटेडले चिरपरिचित प्रतिद्वन्द्वी लिभरपुलसँग लज्जाजनक हार व्यहोरेको छ।

फरवार्ड मोहमद सलाहको ह्याट्रिकमा लिभरपुल ५–० गोलअन्तरको शानदार जित हासिल गर्न सफल भएको थियो। नेभी काइटाको गोलबाट लिभरपुलले अग्रता लिएको थियो। १३औं मिनेटमा जोटाले अर्को गोल थपे। खेलको ३८औं मिनेट र इन्जुरी टाइममा गोल गर्दै लिभरपुललाई पहिलो हाफमा ४–० को अग्रता दिलाएका सलाहले दोस्रो हाफमा थप एक गोल गरे। उनले ५०औं मिनेटमा ह्याट्रिक गरेका हुन् । ६०औं मिनेटमा युनाइटेड १० खेलाडीमा सीमित भएको थियो।

दोस्रो हाफमा मेसन ग्रीनवुडको स्थानमा प्रवेश गरेका पल पोग्बा रातो कार्ड खाँदै बाहिरिएका थिए। योसँगै ९ खेलमा ६ जित र ३ बराबरी गर्दै २१ अंकका साथ लिभरपुल दोस्रो स्थानमा कायम छ। उता हारेको युनाइटेड भने ३ जित, २ बराबर र ३ हारसँगै सातौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्