१२ औं संस्करणको जीतपुरसिमरा गोल्डकप चैत्रमा हुने



सिमरा । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगितामध्येको एक जीतपुरसिमरा गोल्डपको १२ औं संस्करण चैत्र दोस्रो साता हुने भएको छ । आयोजक नव जनजागृति युवा क्लबले शनिबार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी चैत्र १० गतेदेखि प्रतियोगिता सुरु हुने जानकारी दिएको हो ।
आयोजक क्लबका अनुसार प्रतियोगितामा ए डिभिजनको ६ र मोफसलको ४ गरी १२ टिमको सहभागीता रहनेछ । प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्नेछ ।
आयोजकले यस वर्ष प्रथम पुरस्कार राशीमा तीन लाख र द्वितीय पुरस्कारमा एक लाख पचास हजार वृद्धि गरेको छ । ११औं संस्करणमा प्रथम पुरस्कार सात लाख र द्धितीय पुरस्कार तीन लाख पचास हजार थियो ।
चैत्र १९ गतेसम्म संचालन हुने प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडीले मोटरसाइकल वा स्कुटर प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए । प्रतियोगिता अवधीभरी उत्कृष्ट प्रदर्शन गर्ने विधागत पुरस्कारतर्फ गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता, प्रशिक्षकले जनही २० हजार नगद प्राप्त गर्नेछन् । आयोजकले यस वर्ष पनि उदयीमान स्थानीय खेलाडीलाई १५ हजार नगदले पुरस्कृत गर्ने भएको छ ।
१०औं संस्करणसम्म सिमरा गोल्डकपको नामबाट संचालन हुँदै आएको प्रतियोगिता पछिल्लो संस्करणबाट जीतपुरसिमराको नाममा रुपान्तरित भएको हो । स्थानीय सरकारका रुपमा रहेको जीतपुरसिमरा उपमहानगरपालिकाले प्रतियोगिता सम्पन्न गर्नका लागि मुख्य सहयोगीको भूमिकामा सहयोग गर्दै आएको छ ।
प्रतियोगिता यस वर्ष पनि फ्लड लाइटमा हुनेछ । गर्मी मौसमलाई मध्यनजर आयोजकले अघिल्लो संस्करणदेखि फ्लड लाइटमा खेल सञ्चालन गर्न लागेको हो । फ्लड लाइटमा खेल संचालन हुदा खेलाडीलाई राहत पुग्ने र दर्शकको उपस्थिति बाक्लो रहने आयोजकको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्