सुडानका प्रधानमन्त्री नजरबन्दमा, मन्त्रीहरु पनि पक्राउ



काठमाडौँ : सुडानको प्रधानमन्त्री अब्दल्लाह हामडोकलाई सेनाले उनकै घरमा नजरबन्दमा राखको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाए अनुसार सोमबार बिहानै प्रधानमन्त्री अब्दुल्लाहलाई पक्राउ गरिएको हो । त्यस्तै अन्य केही नेताहरु पक्राउ परेका छन् । स्रोतलाई उद्धृत गरिएको समाचारमा पक्राउ पर्नेमा उद्योगमन्त्री, सूचनामन्त्री र प्रधानमन्त्रीका मिडिया सल्लाहकार रहेको उल्लेख गरिएको छ।

त्यस्तै सुडानको सत्तारुढ सोभरेन काउन्सिलका प्रवक्ता मोहम्मद अल फिकी सुलिमान र सुडानको राजधानी सहर खार्तोमका गभर्नर पनि पक्राउ परेका छन् । केही सञ्चारमाध्यमले भने सरकारका सबैजसो मन्त्री पक्राउ परेको उल्लेख गरेका छन् । अलजाजिराका अनुसार अहिले खार्तोममा सबै सञ्चारका माध्यममा रोक लगाइएको छ। साथै अहिले सहरका प्रमुख सडक बन्छ छन् । सुडानमा राजनीतिक संकट गहिरिएपछि यसअघि सयौं सर्वसाधारणले प्रदर्शन गर्दै सत्ता हातमा लिन सेनालाई आह्वान गरेका थिए ।

गत सेप्टेम्बरमा पूर्व राष्ट्रपति ओमर अल बसिरका समर्थकहरुले सत्तापलटको असफल प्रयास गरेपछि तनाब चर्किएको छ । सन् २०१९ मा सुडानमा चार महिनाको प्रदर्शनपछि सेनाले तानाशाही शासक बसिरलाई सत्ताबाट हटाएको थियो । अहिले आम नागरिक र सैन्य प्रतिनिधिसहितको संक्रमणकालीन सरकारले सुडानको सत्ता सम्हालिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्