तास खेलेको भिडियो सार्वजनिक भएपछि सीडीओसहित दुई एसपीको जिम्मेवारी खोसियो



काठमाडौँ : सार्वजनिक स्थलमा जुवातास खेलेको भिडियो सार्वजनिक भएपछि सर्लाहीका प्रमुख जिल्ला अधिकारीसहित सशस्त्र र नेपाल प्रहरीका दुई एसपीको जिम्मेवारी खोसिएको छ। कार्यालय परिसरभित्रै तास खेलेको भिडियो सार्वजनिक भएपछि सर्लाहीका तीनवटै सुरक्षा प्रमुखको जिम्मेवारी खोसिएको हो । दसैंमा सशस्त्र प्रहरी बल १० नम्बर गणभित्र सर्लाहीका सीडीयो रामकुमार महतोसहित नेपाल प्रहरीका प्रमुख एसपी सन्तोष सिंह राठौर र सशस्त्र प्रहरी १० नम्बर गण प्रमुख गंगाराम श्रेष्ठले तास खेलेको भिडियो सार्वजनिक भएको थियो ।

भिडियो सार्वजनिक भएपछि गृह मन्त्रालयले उनीहरूलाई जिम्मेवारीबाट हटाएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार सीडीओ महतोलाई जिम्मेवारीबाट हटाएर बाबुराम खतिवडालाई सर्लाही पठाइएको छ । त्यस्तै प्रहरी प्रधान कार्यालयले एसपी सन्तोष सिंह राठौरको ठाउँमा एसपी कृष्ण प्रसाईं र सशस्त्र प्रहरी बलले गंगाराम श्रेष्ठको ठाउँमा एसपी भरत खनियाँलाई पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्