गोदावरी नगरपालिकाको पहिलो जीत दर्ता



काठमाडौं । उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा गोदावरी नगरपालिकाले पहिलो जीत दर्ता गराएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा महालक्ष्मी नगरपालिकालाई ५–३ गोल अन्तरले पराजित गर्दै गोदावरीले पहिलो जित दर्ता गराएको हो ।
गोदावरीको जीतमा दावा डोल्मा लामा र एस्थर तामाङले दुई(दुई गोल गरिन् भने यान्जोम रोकायाको नाममा एक गोल रह्यो ।
महालक्ष्मीकी कप्तान सरु राईले दुई र पूजा लामाले एक गोल गरिन् । जीतसँगै गोदावरीले तीन खेलमा तीन अङ्क जोड्यो ।
महालक्ष्मीको यो लगातार तेस्रो हार हो । समूह ए मा रहेका दुवै टोली बाहिरिसकेका छन् ।
प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले विभिन्न १० समूहमा विभाजन गरेको थियो ।
प्रतियोगिताको विजेता र उपविजेता टोली राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्