प्रधानाध्यापकको निर्घात कुटाइबाट विद्यार्थी अर्धचेत



सर्लाही : जिल्लाको बरहथवा नगरपालिका–१ मा रहेको बागमती सामुदायिक आधारभूत विद्यालयका प्रधानाध्यापकको कुटाइबाट सोमबार एक विद्यार्थी अर्धचेत भएका छन्। विद्यालयका प्रधानाध्यापक महेन्द्र रायको कुटाइबाट कक्षा–३ मा अध्ययनरत संजीव सहनी अर्धचेत भएका हुन्।

रायको कुटाइबाट अन्य ५ विद्यार्थी समेत घाइते भएका छन्। प्रअ रायको कुटाइबाट अर्धचेत बनेका संजीवको बरहथवा बजारस्थित भेनस अस्पतालमा उपचार भइरहेको छ। लाईनमा बस्दा शिक्षकले भनेअनुसार नगरेको भन्दै लाठी र मुक्का प्रहार गरिएको विद्यार्थीले बताएका छन्।

प्रअ रायले ३ कक्षामै अध्ययनरत तेतरी देवी, विसुन्दर सहनी, सन्तानु सहनी, विवेक सहनी लगायतलाई समेत निर्घात कुटपीट गरेको अस्पतालमा उपचारत संजीवले बताए। प्रअको कुटाइबाट विद्यार्थी घाइते भएपछि अभिभावकले आक्रोसित भएका छन्।

प्रअ रायले भने आफूले विद्यार्थीमाथि निर्घात कुटपीट नगरेको दाबी गरेका छन्। पिटी खेलाउने क्रममा भनेअनुसार नगरेपछि अनुशासन कायम राख्न सामान्य कुटपिट गरेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्