जनकपुर-जयनगर रेल उद्घाटन गर्न फागुन १६ र फागुन १७ प्रस्ताव



काठमाडौँ । जयनगर–कुर्था खण्डमा चल्ने रेलको औपचारिक उद्घाटनका लागि भारतीय रेलवे कम्पनी, कोंकणले दुईवटा मिति प्रस्ताव गरेको छ । कोंकणले फागुन १६ (फेब्रुअरी २८) र फागुन १७ (मार्च १) का लागि मिति प्रस्ताव गरेको हो ।
भारत र नेपालका प्रधानमन्त्रीले भर्चुअल रूपमा उद्घाटन गर्ने भएकाले त्यही अनुसार मिति तय गर्न खोजिएको नेपाल रेलवे कम्पनीले जनाएको छ । कोंकणले भारतीय राजदूतावासलाई दुईवटा मिति तय गरेर पठाएको थियो । दूतावासले नेपाल सरकारबाट प्रस्ताव आउनुपर्ने बताएको कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जानकारी दिए ।
१६ महिनाअघि भारतबाट ल्याइएका दुईवटा रेल सेट गत फागुन १ गतेदेखि यात्रुबिना नै परीक्षणका रूपमा सञ्चालनमा छ । रेल सञ्चालनको तालिम लिएका ६० जना नेपाली कर्मचारीहरू अहिले अभ्यास गरिहेका छन् । उनीहरूलाई प्राविधिक कुरा सिकाउन कोंकणबाट आएका १४ जना कर्मचारीले सहयोग गरिरहेका छन् ।
२६ जना भारतीय प्राविधिकमध्ये १४ जना अहिले आएका छन् भने बाँकी १२ जना रेल चल्ने बेलासम्म आइसक्ने झाको भनाइ छ । उनका अनुसार कुर्थादेखि जयनगरसम्म यात्रा गर्नेले सामान्य सिटको ७० रुपैयाँ र एसी सिटको ३ सय रुपैया तिर्नेगरी भाडादर कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्