वर्षाले घर भत्किएकालाई राहत



तनहुँ : तनहुँको ऋषिङ गाउँपालिकाले वर्षाले घर भत्किएका गाउँवासीलाई राहत प्रदान गर्ने भएको छ । सोमवार बसेको गाउँ कार्यपालिकाको बैठकले गत वर्षात्को समयमा घर भत्किएकालाई राहत प्रदान गर्ने निर्णय गरेको हो । वर्षाले पूर्ण क्षति भएका घरधनीलाई रु ६० हजार, आंशिक क्षति भएकालाई रु ३० हजार र कम क्षति भएका परिवारलाई रु १५ हजारका दरले राहत प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए । गाउँपालिकाले गाउँ फर्क अभियानअन्तर्गत रु एक लाख अनुदान दिने भएको छ ।

कहीँ पनि घर नभएका ऋषिङका नागरिकलाई गाउँ फर्किए रु एक लाख अनुदान दिने निर्णय गरिएको हो । त्यसका लागि गाउँपालिकाले रु १५ लाख बजेट छुट्याएको छ । बसाइँ सरेर गएका गाउँका नागरिकलाई फर्काउन यो कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । चालु वर्षमा १५ घर फर्किने पालिकाको अनुमान छ । सोहीअनुसार रु १५ लाख विनियोजन गरेर कार्यक्रम अघि बढाइएको श्रेष्ठले बताए । तर अनुमानभन्दा बढी आए पनि रकम व्यवस्थापन गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्