प्रदेश २ सरकारद्वारा विश्वविद्यालय स्थापनासम्बन्धी दुईवटा अध्यादेश सिफारिस



जनकपुरधाम । प्रदेश २ सरकारले विश्वविद्यालय स्थापनासम्बन्धी दुईवटा अध्यादेश सिफारिस गरेको छ ।
प्रदेश सरकारले पहिलो पटक अध्यादेशमार्फत कुनै कानुन ल्याउन लागेको हो ।
मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले वीरगंजमा प्राविधिक विश्वविद्यालय र सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय स्थापनाका लागि अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले बताए ।
प्रदेश प्रमुखबाट अध्यादेश जारी भएलगत्तै दुवै विश्वविद्यालय स्थापनाको बाटो खुला हुने मन्त्री साहले बताए ।
प्रदेशलाई कृषि र प्राविधिक क्षेत्रका लागि चाहिने आवश्यक उच्चस्तरीय दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले समय सापेक्ष, व्यापक, व्यावहारिक र स्तरीय बनाउन प्रदेशस्तरीय कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापना आवश्यक देखिएकाले नेपालको संविधानको धारा २०२ बमोजिम प्रदेशसभा संचालनमा नरहेको अवस्थामा अध्यादेश सिफारिस गरेको मन्त्री साहले बताए ।
त्यसैगरी प्रदेश सरकारले ग्रिन सिटी, क्लिन सिटीअन्तर्गत पहिलो चरणमा जनकपुरधाम, राजविराज र वीरगंजमा सरसफाइ, बिजुली बत्ती तथा वृक्षरोपण कार्य संचालन गर्ने निर्णयसमेत गरिएको मन्त्री साहले बताए ।
यसैबीच प्रदेशसभाको प्रमुख विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारले ल्याएको अध्यादेशको विरोध गरेको छ ।
लोसपाका संसदीय दलका नेता जितेन्द्र सोनलले प्रदेशसभामा दुई तिहाइ बहुत हुँदाहुँदै प्रदेश सरकारले चोरबाटोबाट ल्याएको विधेयक कार्यान्वयन भएको खण्डमा आफूहरू कडा रूपमा प्रस्तुत हुने बताए ।
सरकारले अध्यादेशमार्फत सरकार चलाउन खोजेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्