उपकरण तथा औषधि खरिदमा वीर अस्पताल प्रशासनबाट करोडौं अनियमितता



काठमाडौं : वीर अस्पतालमा करोडौं अनियमितता भएको पाइएको छ । उपकरण तथा औषधि खरिदमा अस्पताल प्रशासनबाट अनियमितता हुने गरेको ठहर राष्ट्रिय सतर्कता केन्द्रले गरेको छ । केन्द्रको विस्तृत अध्ययन प्रतिवेदनमा अस्पताल प्रशासनका अधिकारीले बोलपत्रमा टिपेक्स लगाएर समेत अनियमितता गरेको उल्लेख छ ।

प्रतिवेदन अनुसार अस्पताल प्रशासनले २०७४ मा ‘इन्टरप्रेटिभ सिटी विथ हाई एन्ड नेभिएसन सिस्टम’ का लागि उपकरण उपलब्ध गराउन बोलपत्र आह्वान गरेको थियो, जसमा हिमालय मेडिइच र बायमन्ड इन्टरनेसनलले जर्मनीमा उत्पादित एरो मोडलकोे मेसिन उपलब्ध गराउने गरी बोलपत्र पेस गरेका थिए । 

तर एउटा बोलपत्रमा पहिला उल्लेख भएको १८ करोडलाई केरमेट गरी २० करोड ४९ लाख कायम गरी कम्पनीको छाप लगाएकोे केन्द्रको प्रतिवेदनमा जनाइएको छ । यसैगरी हिमालय मेडिइचबाट पेस भएको बोलपत्रमा प्रतिथान १५ करोड ९५ लाख कायम गर्दै २ थानका लागि ३१ करोड ९० लाख प्रस्ताव गरी कबोल अंकमा टिपेक्स लगाई कम्पनीको छाप र हस्ताक्षर भएको प्रतिवेदनमा उल्लेख छ ।

यता चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा आव २०७३,७४ मा क्यान्सरजन्य औषधि खरिदका लागि बोलपत्र आह्वान गरिएकोमा सबैभन्दा घटी कबोल गर्ने डिके मेडी सप्लायर्स र यतिकेम सप्लायर्सको बोलपत्र मूल्यांकन समितिले थप कागजात पेस नगरेको कारण देखाउँदै रद्द ग¥यो । 

समितिले गत आव २०७२/०७३ मा खरिद गरेको दररेटमै खरिद गरी यस वर्ष अस्पताललाई २८ लाख ४६ हजार २ सय ४ रुपैयाँ भार परेको महालेखा परीक्षकको प्रतिवेदनमा छ । कुनै कारणवश बोलपत्र रद्द गर्नु परेमा पुनः बोलपत्र आह्वान गर्नुपर्छ तर सो नियमलाई अस्पताल प्रशासनले उल्लंघन गरी पुरानै दररेटमा औषधि खरिद गरेर आर्थिक अनियमितता गरेको प्रतिवेदनमा जनाइएको छ । आजको नागरिक दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्