बागमतीमा भोलीसम्म नयाँ सरकार गठन गर्न आह्वान



हेटौँडा । बागमती प्रदेशमा नयाँ सरकार गठन (मुख्यमन्त्री) का लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले दलहरूलाई आह्वान गरेका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनममा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि आह्वान गरेका हुन् ।
मुख्यमन्त्रीमा दाबी पेश गर्नका लागि शर्माले बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएका छन् । यसअघि संविधानको धारा १६८ को १ बमोजिम एमालेको एकल बहुमतमा शाक्यको नेतृत्वमा सरकार बनेको थियो ।
नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश प्रमुखले सरकार बनाउन आह्वान गरेसँगै बुधबरा साँझ आफूहरू आवश्यक मत संख्यासहित उपस्थित हुने बताएका छन् ।
प्रदेश सभामा एमालेका ४३‚ माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३‚ विवेकशील साझा पार्टीका ३‚ नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई/दुई तथा जनता समाजवादी पार्टीका १ सांसद् छन् । सरकार बनाउन कम्तीमा ५५ सांसदको समर्थन चाहिन्छ ।

बिहीबार सानो आकारको मन्त्रिपरिषद्
बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामा दिएलगत्तै नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले तयारी तीव्र पारेको छ ।
पार्टी विभाजनपछि देशैभर सत्ताच्युत हुँदै गएको एमाले बागमती प्रदेश सरकारबाट पनि बाहिरिएसँगै गठबन्धनले बिहीबारसम्म सरकार गठन गर्ने तयारी गरेको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि विपक्षी गठबन्धनले बहुमत पु¥याएर प्रदेश प्रमुखकोमा जाने तयारी गरेको छ ।
गठबन्धनबाट मुख्यमन्त्रीमा प्रस्तावित नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले बिहीबार गठबन्धनले ४ सदस्यीय सरकार गठन गर्ने बताए । प्रदेशसभा बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पाण्डेले प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरिसकेकाले बिहीबार गठबन्धनले नयाँ सरकार गठन गर्ने बताए ।
उनले आफ्नो नेतृत्वमा बागमती प्रदेशमा बिहीबार गठबन्धनको ४ सदस्यीय मन्त्रिपरिषद्ले शपथग्रहण गर्ने जानकारी दिए । उनले भने, ‘मेरो नेतृत्वमा अहिले ४ जना सरकारमा जानुहुन्छ । बाँकी मन्त्रिपरिषद् तिहारपछि मात्रै विस्तार हुन्छ ।’
पाण्डेले गठबन्धनमा रहेको ४ दलमा मन्त्रालय भागबण्डा गर्नुपर्ने भएकाले केही मन्त्रालय विभाजन हुनसक्ने समेत बताए ।
बिहीबार गठबन्धनले बनाउने ४ सदस्यीय मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका उपनेता कृष्णलाल भडेल, नेकपा माओवादी केन्द्रकी उपनेता कुमारी मोक्तान र समाजवादीका उपनेता कृष्ण खनाल सहभागी हुनेछन् ।
माओवादीले अर्थ मन्त्रालय, कांग्रेसले भौतिक पूर्वाधार विकास वा स्वास्थ्य मन्त्रालय तथा समाजवादीले मुख्यमन्त्रीसँगै आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा दाबी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्